आज कुन–कुन खोलामा बाढीको खतरा ?

आज कुन–कुन खोलामा बाढीको खतरा ?

२८ साउन, काठमाण्डौ ।

आज देशका धेरैजसो स्थानमा पानी पर्ने र कतिपय ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोप हुने भएकाले सजगता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा मधेश प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ । आज ६ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्ला र यी जिल्लाका आसपास भइ बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ । यस्तै, बग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने अनुमान छ ।

यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा हिजोदेखि देशभर पानी परिरहेको छ । देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.