१२ भदौ, एजेन्सी ।
भारतको अध्यक्षतामा नयाँ दिल्लीमा ९ र १० सेप्टेम्बरमा हुन लागेको जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडन, ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक, चीनका राष्ट्रपति सी जिनपिङ, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसमेत विश्वका १९ देशका शीर्ष नेता सहभागी हुँदैछन ।
तर यस समय विश्व राजनीतिको केन्द्रमा रहेका पुटिन भने दिल्ली नआउने पक्का भएको छ । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोफले रूसका सञ्चारमाध्यमसँग कुरा गर्दै यस पटकको जी–२० शिखर सम्मेलनमा भाग लिन दिल्ली जाने कार्यक्रम नभएको बताएका छन् । पेस्कोफले भने, ‘पुटिन दिल्लीमा हुन गइरहेको जी–२० सम्मेलनमा जाने योजना बनाइरहेका छैनन् ।
अहिले युक्रेनमा विशेष सैन्य अभियान नै सबैभन्दा अहम मुद्दा हो।’ पुटिनले तत्कालै टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको निम्तोमा अंकारा जान सक्नेछन् । उनले त्यहाँ काला सागरमा ग्रेन (काला सागरमार्फत गहुँ निर्यातसँग जोडिएको) सम्झौतामाथि चर्चा गर्ने सम्भावना छ । हालै मात्र दक्षिण अफ्रिकामा भएको ब्रिक्स (ब्राजिल, रूस, इन्डिया, चीन र दक्षिण अफ्रिका) को शिखर सम्मेलनमा पनि पुटिन अनुपस्थित थिए ।
पुटिन पछिल्लो वर्ष इन्डोनेसियाको बालीमा भएको जी–२० सम्मेलनमा पनि सहभागी भएका थिएनन् । दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलन र बालीको जी–२० सम्मेलनमा पुटिनको साटो विदेश मन्त्री सर्गेई लाभरोफ सहभागी भएका थिए । पुटिन जी–२० शिखर सम्मेलनमा अनुपस्थित भएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा अस्ट्रेलियाको ब्रिसबेनमा जी–२० सम्मेलन हुँदा पनि उनलाई बोलाइएको थिएन ।
युक्रेन युद्धपछि पुटिनले आफ्नो विदेशी भ्रमण सीमित गरेका छन्। तर पनि उनी सन् २०२२ मा ताजीकिस्तान र तुर्कमेनिस्तान पुगेका थिए । यसका अलावा पछिल्लो साल पुटिन एससीओ सम्मेलनमा उज्बेकिस्तान गएका थिए। त्यहाँ उनको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरुसँग भएको थियो । यसै वर्ष १७ मार्चमा अन्तरराष्ट्रिय अपराध अदालतले पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो।
यो वारेन्ट अवैध रूपमा युक्रेनका बालबालिकालाई रुस लगेको भन्दै जारी गरिएको थियो । पुटिनका अलावा रूसका बाल अधिकार आयुक्त एलेक्सियेभना लभोभा बेलोभाविरुद्ध पनि वारेन्ट जारी भएको छ । तर युक्रेन र रूस दुवै देश अन्तरराष्ट्रिय अपराध अदालत (आईसीसी) का सदस्य छैनन्। सन् २०१५ मा युक्रेनले आफ्नो भूमिमा भएको अपराधका लागि आईसीसीको अधिकार क्षेत्र स्वीकार गरेको थियो ।
समाचार अनुसार आईसीसीका १२३ सदस्य राष्ट्र गिरफ्तारी वारेन्ट लागू गर्न सहयोगका लागि बाध्य हुन्छन् । तर भारत भने आईसीसीको सदस्य नभएकाले पुटिनको गिरफ्तारीका लागि सहयोग गर्न बाध्य हुने छैन । जी–२० शिखर सम्मेलन लक्षित मोदी र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन वार्ता भएको छ । पुटिन व्यक्तिगत रूपमा जी–२० शिखर सम्मेलनमा सहभागी नहुने खबर आएपछि दुई नेताबीचको वार्ता भएको हो।
लबचभलमचबmयमष्।ष्ल मा लेखिएको सूचनाले दुई नेताबीच भएको कुराकानीको पुष्टि गरेको छ । दुई नेताले द्विपक्षीय सहयोगका धेरै मुद्दाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै हालै जोहानेसबर्गमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनलगायत क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि छलफल गरेको बताइएको छ। पुटिनले रुसको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने बताएका छन् ।