१६ भदौ, काठमाण्डौ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट शनिवार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गरेका हुन् । यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ ।
गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रिय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गरे । अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने अध्यक्ष दाहालको विश्वास छ । दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षिय कामहरु अघि बढाइरहेको दाबी समेत गरे ।
आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे । उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गरे ।
प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको जनाएका छन् । आफैँले गरेका राम्रा काम पनि जनतासम्म पु¥याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास व्यक्त गरे ।