१९ भदौ, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानबीच ब्ल्याक सी ग्रेनबारे छलफल भएको छ । सोमवार रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच ब्ल्याक सी ग्रेनको सम्झौता बारे छलफल भएको हो । बैठकपछि बोल्दै टर्कीका राष्ट्रपति एर्दोगनले विश्वलाई ब्ल्याक सी ग्रेन इनिसिएटिभबारे सन्देश दिनु भनेको अविकसित अफ्रिकी देशहरुका लागि एक कदम अघि बढ्नु रहेको बताए ।
एर्दोगान र पुटिनबीच द्विपक्षिय सम्बन्ध र क्षेत्रीय मुद्दामा पनि छलफल भएको छ । टर्की र रुस बीचको वैदेशिक व्यापार मात्रा ६२ बिलियन अमेरिकी डलर रहेको र सय बिलियन पुग्ने लक्ष्यतर्फ अग्रसर भएको राष्ट्रपति एर्दोगनले बताए । टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताको रुपमा काम गरेको छ ।
यसैबीच उत्तर कोरियाका नेता किम जोङ उन यसै महिना रुस यात्रामा निस्कन लागेको एकजना अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार समाचार संस्था सीबीएसलाई बताएका छन् । ती दुई नेताबीच जारी युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले अस्त्र दिन सक्ने सम्भावनाबारे छलफल गर्ने ठानिएको छ । उनीहरूको भेट ठ्याक्कै कहाँ हुनेछ भन्ने स्पष्ट भइसकेको छैन ।
यद्यपी न्यूयोर्क टाइम्सले सूत्रहरूलाई उद्धृत गर्दै किम जोङ उन अस्त्रले जडित बख्तरबन्द किसिमको रेलबाट यात्रा गर्ने धेरै सम्भावना रहेको बताएको छ । उत्तर कोरियाको सुदूर उत्तरपूर्वी क्षेत्रको सिमाना रुससँग जोडिएको छ । दुई देशबीच अस्त्रसम्बन्धी कुराकानीमा सक्रिय प्रगति भइरहेको ह्वाइट हाउसले बताए लगत्तै यो भ्रमणको समाचार बाहिर आएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् । किमले रुससँग हतियारबारे छलफल गर्न चाहेको जानकारी आफूहरूसँग रहेको भन्दै एड्रियन वाट्सनले रूस र उत्तर कोरियाबीच हतियार वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको बताएकी छन् ।
गत साता अमेरिकी रक्षा मन्त्रालयले रुस पहिले नै उत्तर कोरियासँग युक्रेन युद्धका लागि हतियार आपूर्ति गर्ने सम्बन्धमा गोप्य र सक्रिय वार्तामा रहेको जनाएको थियो । यसैबीच ह्वाइट हाउस प्रवक्ता वाट्सनले उत्तर कोरियालाई रुससँगको हतियार सम्झौता रोक्न र उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगर्ने कुरा प्रतिबद्धता जनाउन पनि आग्रह गरेकी छन् ।
यस्तै रुसी रक्षामन्त्री सर्गेइ शोइगु गत जुलाइमा उत्तर कोरिया भ्रमणमा गरेको विषयलाई लिएर पनि अमेरिकी अधिकारीहरूले थप आशंका गर्दै आएका छन् । जवकि जुलाइको उक्त भ्रमण १९९१ मा सोभियत संघ विघटनपछि नै रुसी रक्षामन्त्रीको पहिलो उत्तर कोरिया भ्रमण पनि थियो ।
युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका भ्लादिमिर पुटिनले हाल उत्तर कोरियासँग मिसाइल लगायतका हतियार खोजिरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेख्दै आएका छन् । त्यसको सट्टामा किमले भने रुसबाट खाद्यान्न सहायता पनि खोजिरहेका छन् । सेप्टेम्बर दोस्रो साता पुटिनसँग भेटका लागि किम मस्को जाने अमेरिकी अधिकारीहरूको दाबी छ ।