२८ भदौ,एजेन्सी ।
पर्यटनको प्रमुख गन्तब्य मध्येको एक थाइल्याण्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र काजकिस्तानका पर्यटकहरुलाई बिना भिसा प्रवेश दिने भएको छ । चीन र काजाकिस्तान पर्यटकहरुका लागि अस्थायी भिसा छुट दिने प्रश्ताव अनुमोदन भएको हो ।
थाइ प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधवार यो नीतिले चिनियाँ र काजाकिस्तान पर्यटकहरुलाई सेप्टेम्बर २५ देखि फेब्रुअरी २०२४ को अन्त्यसम्म भिसा आवश्यक नपर्ने बताएका छन् । यस अवधि सकिएपछि त्यसको प्रभाव मूल्यांकन हुने उनले बताएका छन् । यस नयाँ नीतिबाट थाइल्याण्डले यस वर्ष २८ मिलियन विदेशी पर्यटक भित्र्याउने सोच राखेको छ ।
उनीहरुबाट ३९.१५ बिलियन अमेरिकी डलर राजश्व कमाउने अपेक्षा गरेको छ । कुल पर्यटन राजश्वमा ८६.६८ बिलियन अमेरिकी डलरसहित २०२४ मा देशमा पर्यटकको संख्या ४ करोड पुग्ने अनुमान छ । थाइल्याण्डमा देशको कुल गार्हस्थ्य उत्पादनको करिव १२ प्रतिशत पर्यटनले ओगटेको छ ।
थाइल्याण्डको पर्यटन क्षेत्रमा भएको विकास संसारकै लागि लोभलाग्दो रहेको छ । सुन्दर समुन्द्री किनार तथा भौतिक संरचनाका कारण सो देशको पर्यटनले विश्वमै नयाँ उदाहरण दिएको छ । तर समुन्द्र र भौतिक पूर्वाधारले मात्रै थाइल्याण्डको पर्यटन धानिएको छैन ।
त्यहाँको यौन बजार पनि पर्यटनको विकासको अर्को आधार बनेको छ । थाइल्याण्डको एक विश्वविद्यालयले गरेको अध्ययनअनुसार सो देशको मूल ग्राहस्थ उत्पादनमा यौन उद्योगले योगदान दिएको छ । त्यसको कूल भ्याल्यू मात्रै ४.३ विलियन अमेरिकी डलर रहेको छ । २ लाख बढी यौन व्यवसायी कार्यरत रहेका छन् ।