सर्प पाल्ने झलनाथ प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार

सर्प पाल्ने झलनाथ प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार

२१ असोज, काठमाण्डौ ।
सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको छ । सर्प पाल्ने भन्दै प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्काविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँग सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गरेको छ । अख्तियारले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने कार्यमा अनियमितता गरेको भन्दै मधेशका तत्कालीन मन्त्री र लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । विशेष अदालत, काठमाडौंमा आइतबार दायर मुद्दामा उनीहरुबाट १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिजानाको माग समेत गरिएको छ ।

यादव तत्कालीन मन्त्री भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ । अख्तियारले प्रतिष्ठानको नाममा रहेको लालबन्दी नगरपालिका १ को ८ विघा ९ कठ्ठा ६.३३ धुर जग्गा र जिप जफातको मागदाबीका लागि प्रतिष्ठानलाई पनि प्रतिवादी बनाएको छ ।

यसअघि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका थिए । उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताएका थिए ।

सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि खनालले स्पष्ट पारेका थिए ।उनले भनेका थिए, ‘झलनाथले ७३ करोड पैसा ल्याएर सर्प पाल्दैछ भन्छन्, एक खाले मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेसा नै त्यही जस्तो लाग्छ । सर्प पालनमा न मेरो कुनै लगानी छ, न कुनै अरू पेसा व्यवसाय छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.