२० कार्तिक , काठमाण्डौ ।
कोशी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । एमालेसंगको सहमति विपरित कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि शनिबार एमालेका मन्त्री राम रानाले राजीनामा दिएका थिए । त्यसअघि एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको थियो ।
सोमबार बसेको संसदीय दलको बैठकले भने तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको हो । यसबारे एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिदै भने, ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौं, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौं’ । उनले सरकारको काम कारबाही र परिस्थिति हेरेर थप निर्णय गर्ने बताए पनि बताएका छन् ।
सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक भण्डारीले जानकारी दिए । नेकपा एमालेको सहयोगमा कांग्रेसभित्र विद्रोह गरेर केदार कार्की २७ असोजमा मुख्यमन्त्री बनेका थिए ।
२८ असोजमा शपथ ग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना र कांग्रेस विद्रोही समूहबाट सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । १ कात्तिकका विश्वासको मत लिएका कार्कीले शुक्रबार माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए ।
कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। सरकार निर्माणका क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसदको समर्थन जुटेको थियो।
तर विश्वासको मत लिने क्रममा नेकपा एमाले ३९, कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जनता समाजवादी १ सहित ८६ सांसदको मत कार्कीलाई मुख्यमन्त्री कार्कीलाई परेको थियो।