२० मंसिर, एजेन्सी । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलस्टार लियोनल मेसी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित भएका छन् । उनलाई ‘टाइम एथिलिट अफ दि यिएर’ अवार्डबाट सम्मान गरिएको हो ।
टाइम म्यागेजिन विश्वचर्चित अमेरिकी साप्ताहिक पत्रिका हो । फुटबलमा पाउनुपर्ने सबै उपाधि र उपलब्धि हासिल गरेका मेस्सीले हालै कीर्तिमानी आठौँ पटक बालुन डि’ओर अवार्ड हात पारेका थिए ।
पीएसजीबाट अमेरिकी क्लब इन्टर मायामीमा अनुबन्ध भएका मेस्सीले हाल अमेरिकी फुटबलमा तरंग पैदा गरेका छन् । उनका खेलहरू हेर्न हलिउड अभिनेता, अभिनेत्री, संगीतकार तथा धनाढ्य व्यापारीहरू मैदानसम्म पुग्ने गरेका छन् ।
मेसीले सन् २०२२ को विश्वकप उपाधि जितेसँगै उनलाई सर्वकालीन महान फुटबलर पनि भन्न थालिएको छ । विश्वकपमा सात गोल गरेका मेस्सीले अर्जेन्टिनालाई सन् १९८६ पछि विश्वकपको उपाधि जिताउन सफल भए ।
विश्वकपमा फ्रान्सविरुद्धको फाइनलसहित उनी पाँचपटक प्लेयर अफ द म्याच घोषित भए । उनी विश्वकपकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
केही समयअघि उनी पीएसजी छोडेर अमेरिकी क्लब इन्टर मायामीमा आबद्ध छन् । यसबीचमा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै मायामीलाई पहिलोपटक लिग्स कपको उपाधि जिताउन सफल भए ।
मेसीले लिग्स कपमा १० गोल र एक असिस्ट गरेका थिए । फुटबलमा उल्लेखनीय योगदान दिएको भन्दै मेसीलाई टाइम म्यागेजिनले वर्ष खेलाडीको अवार्डबाट सम्मान गरेको हो ।
मेसीअहिले आगामी विश्वकपका लागि अर्जेन्टिनाबाट छनोट चरणका खेलहरु खेलिरहेका छन् ।