युक्रेनका ४ क्षेत्रमा रुसले राष्ट्रपति निर्वाचन गर्ने

युक्रेनका ४ क्षेत्रमा रुसले राष्ट्रपति निर्वाचन गर्ने

२६ मंसिर,एजेन्सी ।

क्रेमलिनले गत वर्ष कब्जा गरेको भन्दै दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले आगामी वर्ष मार्च १५ देखि १७ सम्म युक्रेनका डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनमा मतदान हुने बताएको हो । ती क्षेत्रमा अहिले पनि रुसको पूर्ण सैन्य नियन्त्रण छैन ।

सरकारी समाचार एजेन्सी तासका अनुसार आयोगका उपाध्यक्ष निकोले बुलायेभले भने, ‘ती क्षेत्रमा निर्वाचन हुने निर्णय सर्वसम्मतिले भएको हो।’ क्रेमलिनका आलोचकहरूले निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ धेरै कठिन बनाउने बताएका छन् । रुसका अधिकांश विपक्षी नेता कारागार वा निर्वासनमा रहेकाले पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्ने अपेक्षा गरिएको छैन ।

क्रेमलिन र युक्रेनमा आक्रमणको समर्थन गर्ने सबै पाँच प्रमुख दललाई हस्ताक्षर सङ्कलनबिना सन् २०२४ को निर्वाचनका लागि उम्मेदवार प्रस्तुत गर्न अनुमति दिइएको छ । यसअघि युक्रेनले ‘युक्रेनी अधीनस्थ क्षेत्रहरूमा राष्ट्रपति निर्वाचन गराउने रुसको मनसायको दृढ निन्दा गर्न’ अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो ।

किएभले पश्चिमी मुलुकहरूसँग जिम्मेवार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाउनसमेत आह्वान गरेको छ । रुसले यसअघि युक्रेन अधीनस्थ क्षेत्रहरूमा निर्वाचन गराएको छ । किएभ र पश्चिमी मुलुकहरूले घोषित मतदानलाई अमान्य भनेका थिए । मस्कोले सेप्टेम्बरमा चार युक्रेनी क्षेत्रमा स्थानीय अधिकारीहरूका लागि निर्वाचन गराएको थियो ।

एक वर्षअघि उसले ती क्षेत्रमा कब्जा गर्नका लागि ‘जनमत सङ्ग्रह’ गरेको थियो। दुवै निर्वाचनको किएभ र पश्चिमी मुलुकहरूले निन्दा गरेका थिए। रुसले सन् २०१४ मा एकतर्फी तरिकाले युक्रेनबाट क्रिमिया प्रायद्वीपमाथि कब्जा गरेको थियो। त्यो वेलादेखि त्यहाँ निर्वाचन हुने गरेको छ ।

पुटिनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा आफू फेरि उम्मेदवार बन्न लागेको बताइसकेका छन् । सन् १९९९ को उत्तरार्धमा बोरिस येल्त्सिनबाट सत्ता लिएका पुटिनले जोसेफ स्टालिनपछिका कुनै पनि रुसी शासकभन्दा लामो समयसम्म राष्ट्रपतिको रूपमा सेवा गरेका छन्। चुनाव लड्ने उनको घोषणासँगै उनी सन् २०३० सम्म रुसको राष्ट्रपति रहने कुरा लगभग स्पष्ट भइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.