प्रशासकीय अधिकृतलाई बालेनले कार्यालय पस्न नदिने

प्रशासकीय अधिकृतलाई बालेनले कार्यालय पस्न नदिने

२४ पुष,विराटनगर ।
काठमाडौं महानगरपालिका कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ। सोमबार महानगरपालिका मेयर बालेन शाहको सचिवालयले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएको सचिवालय स्रोतले बताएको छ ।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ।

यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि संलग्नता भेटिएपछि सचिवालयले उनलाई छानबिन नसकुञ्जेल बिदामा बस्न भनेको थियो। तर छानबिन सकिनुअगावै अधिकारी आउने थाहा पाएपछि सचिवालयले ताला लगाएको सचिवालयको दाबी छ। उनलाई कारवाहीका लागि बालेनले गृहमन्त्रीसम्म सहयोग मागेका थिए ।

तर कर्मचारीलाई अख्तियारबाट मात्रै कारबाही चलाउन सकिने कर्मचारीबाट सुझाव पाएपछि गृहमन्त्री नारायणकाजी क्षेष्ठले समेत उनलाई कारबाही प्रक्रिया अघि बढाउन सकेनन् । उक्त प्रवर्द्धन केन्द्र ’द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो। सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कोठा बन्द भएको बताएका छन् । उनले यो घटनामा उहाँ दोषी हो कि होइन भन्ने विषयमा छानविन भइरहेको भन्दै निर्णय नआउन्जेलसम्मका लागि कार्यकक्ष बन्द नै रहने बताएका छन् । यो घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

उक्त समितिमा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल छन्। छानबिन प्रतिवेदनको सुझावअनुसार उनीहरूमाथि कारबाही गरिने महानगरले जनाएको छ। कार्यपालिकाको निर्णय कीर्ते भएको खुलेपछि गत सोमबार नै महानगरले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.