२९ पुष,काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ । गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ ।
राष्ट्र बैंकले भनेको छ, ’यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।’ नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको फोटो भएको ह्वाटस एपबाट राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई म्यासेज आर्थिक कारोबारसम्बन्धी म्यासेज गएपछि उनको ह्वाट्स एप दुरुपयोग भएको खुलेको थियो ।
कार्यकारी निर्देशकको नम्बरमा गभर्नरको फोटो भएको नम्बरबाट म्यासेज आउनुको साथै फोन पनि मिस भएपछि राष्ट्र बैंकका ति कार्यकारी निर्देशकले गभर्नरले नियमित रुपमा प्रयोग गर्ने भन्दा फरक नम्बर (+९७७९८१४४८६४४९) बाट ,‘ तत्काल मेरा लागि केही कारोबार गर्न मलाईं तपाईंको आवश्यकता परेको हो । आशा छ, तपाईं अहिले फुर्सदमा हुनुहुन्छ ।’ भन्ने प्रस्ताव आएपछि उनले त्यो नम्बरको साटो गभर्नरले नियमित फोन गर्ने नम्बरमा सम्पर्क गरेपछि नम्बर दुरुपयोग भएको खुलेको थियो ।
आर्थिक कारोबार गर्नु पर्ने आशयसहित म्यासेज आएपछि राष्ट्र बैंकका ती कार्यकारी निर्देशकले गभर्नरले नियमित प्रयोग गर्ने मोबाइलमा फोन गरेका थिए । गभर्नर महाप्रसाद अधिकारीले आफूले नयाँ नम्बरबाट म्यासेज नै नगरेको बताएपछि उनको फोटो दुरुपयोग गर्दै ह्वाटस एफ एकाउन्ट खोलेर बजारबाट पैसा उठाउन खोजिएको खुलेको हो ।
राष्ट्र बैंकका ती कार्यकारी निर्देशकलाई जसरी नै राष्ट्र बैंकका अन्य कर्मचारीलाई समेत फेक ह्वाटस एफ नम्बरबाट पैसा माग्दै म्यासेज गरिएको फेला परेको छ । गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको फेक एकाउन्टबाट राष्ट्र बैंकका एक उपनिर्देशकलाई समेत रकम माग गर्दै म्यासेज गरिएको थियो ।
आफू अहिले एक मिटिङमा रहेकाले अनलाइन कारोबार गर्न सक्ने अवस्थामा नरहेको र आफूले भनेको एक खातामा ८० हजार रुपैयाँ पठाउन म्यासेजमा आग्रह गरिएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारीले भने आफ्नो फोटो प्रयोग गरेर फेक ह्वाटस् एप एकाउन्ट खुलेको विषय शनिबार मात्रै थाहा पाएको बताएका छन् ।
गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको ह्वाटस एफ एकाउन्टबाट विभिन्न व्यक्तिलाई म्यासेज गर्ने र पैसा माग्ने गरिएको जानकारी प्राप्त भएपछि गभर्नर कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार उजुरी दिएको छ ।
यस्तै, राष्ट्र बैंकले समाजिक सञ्जाल फेसबुक÷ एक्समा समेत राष्ट्र बैंकका गभर्नर अधिकारीको फोटो दुरुपयोग गर्दै ह्वाटस एप एकाउन्ट बनाएको जानकारी दिएको छ ।अधिकारीको फेक एकाउन्ट खुलेको जानकारी पछि गभर्नर कार्यालयले उक्त एकाउन्ट बन्द गर्ने र गलत गतिबिधिमा संलग्नलाई कारबाही गर्न माग गर्दै साइबार ब्यूरोमा उजुरी दिएको हो ।