उपेन्द्रलाई प्रमुख अतिथि बनाएपछि सीके बिच्किए

उपेन्द्रलाई प्रमुख अतिथि बनाएपछि सीके बिच्किए

२ माघ, काठमाण्डौ ।

राष्ट्रिय राजनीतिमा मधेशलाई मुख्य राजनीतिक केन्द्र बनाएका दुई ठूला दल हुन् जनता समाजवादी पार्टी जसपा र जनमत पार्टी । यी दुई दल मधेसका ठूला र प्रतिस्पर्धी दल हुन् । राष्ट्रिय राजनीतिमा जसपाको अंक गणित महत्वपूर्ण छ भने मधेसमा जनमतको बोलवाला छ । यसैले मधेसमा यी दुई दल मिलेर सरकार समेत बनाए ।

तर आफैमा यी दुई दलका अध्यक्षको सम्बन्ध भने पानी बराबारको रहेको छ । जसको उदाहरण गएको बारामा सम्पन्न उपनिर्वाचनमा उपेन्द्रलाई हराउनकै लागि जनमतका अध्यक्ष सीके राउत आफै मैदानमा उत्रिएका थिए । यस्तै उपराष्ट्रपतिको निर्वाचनमा समेत जसपाका उम्मेदवारलाई पराजित गर्न गठबन्धनमा विद्रोह गर्दै जनमतले उम्मेदवार उठाएको थियो ।

पछिल्लो समय गठबन्धनबाट आसन्न राष्ट्रियसभामा सिट नपाएपछि जनमतले छुट्टै उम्मेदवार उठाएको छ । राष्ट्रिय राजनीतिमा जनमतका लागि जसपा तगारो बनिरहेको अवस्थामा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आफ्नो पहलमा ल्याइएका योजनामा जसपाका नेता–कार्यकर्ताले कब्जा गरेको भन्दै आक्रोश पोखेका छन् ।

राउत सप्तरी क्षेत्र–२ बाट निर्वाचित संघीय सांसद हुन् । फेसबुकमा स्टाटस लेख्दै उनको सचिवालयले सप्तरी २ मा मधेस कृषि विश्वविद्यालय, राज रंगशाला, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतको परियोजनामा आफूले बजेट ल्याइदिएको तर कार्यक्रम गर्दा जसपाले कब्जा गरेर जनमतलाई बहिष्कार गरेको जिकिर गरेको छ ।मधेस कृषि विश्वविद्यालयको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएकोमा उनले आपत्ति जनाएका छन् ।

‘दिनरात एक गरेर सप्तरी निर्वाचन क्षेत्र नं. २ मा मधेस कृषि विश्वविद्यालयलाई ३० करोड बजेट हाल्न लगाउने जनमत पार्टीले, अनि कार्यक्रम हुँदा सप्तरी निर्वाचन क्षेत्र २ मा प्रमुख अतिथि जसपाका अध्यक्षलाई बोलाउने ?,’ उनले प्रश्न गरेका छन्, ‘किन ? के को लागि ? के त्यो उहाँको निर्वाचन क्षेत्र हो ?’ सीकेको अर्को प्रश्न छ, ‘६ महिनादेखि दिनरात एक गरेर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशदेखि बजेट विनियोजनसम्म गर्न लगाउने जनमतले अनि श्रेय लिने जसपाले ?’ काम गर्ने कालु, मकै खाने भालु भन्दै उनले यस्तै हस्तक्षेपको रवैया रहे अब प्रतिकार हुने चेतावनी दिएका छन् । फेसबुकमा लेखिएको छ, ‘त्यसो हो भने त सोच्नै पर्छ । एक जाडोले गर्जो टर्दैन । काम फेरिफेरि आउँछ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.