९ माघ, काठमाडौं ।
अत्यधिक चिसो र पहिरोको पीडा खेपिरहेको चीनमा फेरि अर्काे विपत्ति आइपरेको छ । चीन–किर्गिस्तान सीमा क्षेत्रमा सोमबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । राति ११ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा जमिनबाट २२ किलोमिटर तल थियो ।
समाचार एजेन्सी एपीका अनुसार भूकम्पमा १२० भन्दा बढी भवनहरू भत्किएका छन् भने प्रारम्भिक चरणमा ६ जना घाइतेलाई उद्धार गरिएको छ । भूकम्पपछि ५.३ म्याग्निच्युडसहितको ४० वटा परकम्प पनि गइसकेका छन् । भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो ।
भूकम्पको केन्द्रविन्दु क्षेत्रबाट २ सय भन्दा बढीलाई स्थानान्तरण गरिएको एपीले उल्लेख गरेको छ । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ । विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ ।
चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली–एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । आतंकित मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए । यस्तै चीनको युनान प्रान्तमा गएको पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको छ ।
सोमबार गएको पहिरोमा परि अझै हराइरहेका अरु धेरै मानिसहरूको खोजी भइरहेको छ । राष्ट्रपति सी जिनपिङले निरन्तर खोज तथा उद्धारका लागि आदेश दिएका छन् । त्यस क्षेत्रको तापक्रम शून्यभन्दा तल झरेकाले अत्यधिक चिसोका कारण उद्धारकर्तालाई समस्या भइरहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बस्ती नजिकैको ठाडो भीरमा पहिरो खसेको देखिएको छ ।
पहिरोले धेरै घर तथा अरु भौतिक संरचना भत्काएको छ । त्यस क्षेत्रका पाँच सय जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ भने एक हजार जना उद्धारकर्मीहरू परिचालन गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सोमबार मात्रै चीनको युनान प्रान्तमा गएको पहिरोमा ४७ जना पुरिएका छन् । पहिरोमा परेर १८ वटा भवन भत्किँदा अरु थुप्रै मानिस बेपत्ता भएका छन् । पुरिएकाहरुको खोजी तथा उद्धार कार्य अझै भइरहेको छ ।