९ माघ, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ। सहकारीको रकम हिनामिनालगायतका विषयमा छानबिनको माग राखेर आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार सभामुख देवराज घिमिरे र संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन्।
‘मिति २०८० पौष २२ गतेका दिन कान्तिपुर राष्ट्रिय दैनिक साथै इकान्तिपुर डटकम अनलाइन न्युज पोर्टलमा ३५ हजार बचतकर्ताको कम्तिमा ५२ करोड ग्यालेक्सी टिभीमा डुब्यो भन्ने शीर्षकको समाचारका साथै रवि लामिछानेको खातामा सहकारीबाट रु १ करोड ८० लाख डिपोजिट भएको प्रमाण सार्वजनिक भएको साथै रवि लामिछानेको रु १ करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको शेयर खरिद विक्रिको कागज समेत सार्वजनिक भएको छ। तसर्थ निज रवि लामिछानेको सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले समेत सहकारी ठगी सम्बन्धी फाइलहरु जफत गरी अनुसन्धान गरेको अबस्था रहेको छ । अत ३५ हजार बचतकर्ताको करिव ५२ करोड घोटाला प्रकरणमा निज रवि लामिछानेको संलग्नता के कसरी भएको हो सो को निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न आवश्यक पर्ने भएकोले निज रवि लामिछानेको सहकारी ठगी सम्बन्धी विषयमा आवश्यक छानविन गर्न संसदीय छानविन समितिको आवश्यकता परेकोले तत्काल संसदीय छानविन समिति गठन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिनको लागि सम्माननीय सभामुख ज्यू समक्ष नेपाली नागरिकको तर्फबाट प्रस्तुत निवेदन पेश गरेको छु,’ सभामुखसमक्ष दिएको उजुरीमा उनले उल्लेख गरेका छन् ।
केही दिन अघि मात्रै रवि र जीबी राई विरुद्ध सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गराएका थिए । सफलले यसअघि रविविरुद्ध नागरिकता, राहदानीका विषयमा पटक पटक जाहेरी दिएका थिए ।
उनकै जाहेरीपछि रविको नागरिकता सर्वाेच्च अदालतबाट अवैध ठहर भएपछि उनको सांसद पदसमेत गुमेको थियो । पुन नागरिकता प्राप्तिपछि उपनिर्वाचन मार्फत रवि चितवन २ बाट दोस्रो पटक निर्वाचित भएका थिए । रविले सोमबार मात्रै पत्रकार सम्मेलन गरी आफ्नो खातामा आएको भनिएको १ करोड ८० लाख रुपैयाँ खातामा नआएको जानकारी गराएका थिए ।
तर लामिछानेबाट ग्यालेक्सी टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको पाइएको छ। लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर लिँदा अध्यक्ष राईले उनको खातामा एक करोड ८० लाख रूपैयाँ जम्मा गरिदिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो।
ग्यालेक्सी छोड्दा १ करोड ८० लाख रूपैयाँ राईबाट लिएको चेक स्लिप सार्वजनिक भएपछि रवि लामिछानेले उक्त रकम आफ्नो खातामा जम्मा नभएको भन्दै पत्रकार सम्मेलन नै गरेपछि यसको रहस्य खुलेको हो । कम्पनीको हस्तान्तरण गर्दा किनबेच गर्ने व्यक्तिहरूको मञ्जुरीनामा चाहिन्छ।
१० लाखभन्दा बढीको सेयर किनबेच गर्दा बैंक भौचर बुझाउनुपर्छ। किन्ने मान्छेले बेच्ने मान्छेको खातामा पैसा जम्मा गरिदिएको भौचर बुझाएपछि मात्र सेयर हस्तान्तरण हुने प्रावधान छ। रविले भने सहकारी ठगी प्रकरणमा आफ्नै कुनैपनि संलग्नता नरहेको बताउँदै आएका छन् ।