२९ माघ , विराटनगर ।
सुनसरीमा झण्डै २ करोड नक्कली नोट बरामद भएको छ । एक हजार रुपैयाँ दरका उक्त नक्कली नोट भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा फेला परेको छ । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको हो ।
इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । नक्कली नोटसहित भारतको बीआर ११ एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए । एसपी रेग्मीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो ।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो ।
बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।