निर्मला पन्तको हत्यारा पत्ता नलगाएको भन्दै काङ्ग्रेसले गर्यो संसद् अवरुद्ध

निर्मला पन्तको हत्यारा पत्ता नलगाएको भन्दै काङ्ग्रेसले गर्यो संसद् अवरुद्ध

काठमाडौँ, भदौ २८
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक अवरुद्ध गरेको छ ।

काङ्ग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेको हो ।

काङ्ग्रेसका सांसद दिलेन्द्र बडूले बैठक शुरु हुने बित्तिकै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी पन्तको हत्यारा र नगर अध्यक्ष पुनको हत्यारालाई कानुनको कठघरामा ल्याउन माग गर्दै के कारणले खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाइ पक्राउ गरिएको त्यसको जवाफ दिन सरकारसँग माग गरे ।

उनले सरकारले ती विषयमा जवाफ नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने बताए । यसपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकमा सांसद बडूले उठान गरेका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सभामुख महराले प्रतिपक्षीदलका सांसदहरु आ–आफ्नो आसनबाट उठिरहेकाले बैठक दश मिनेटका लागि स्थगित गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.