काठमाडौँ, भदौ २८
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक अवरुद्ध गरेको छ ।
काङ्ग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेको हो ।
काङ्ग्रेसका सांसद दिलेन्द्र बडूले बैठक शुरु हुने बित्तिकै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी पन्तको हत्यारा र नगर अध्यक्ष पुनको हत्यारालाई कानुनको कठघरामा ल्याउन माग गर्दै के कारणले खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाइ पक्राउ गरिएको त्यसको जवाफ दिन सरकारसँग माग गरे ।
उनले सरकारले ती विषयमा जवाफ नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने बताए । यसपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकमा सांसद बडूले उठान गरेका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सभामुख महराले प्रतिपक्षीदलका सांसदहरु आ–आफ्नो आसनबाट उठिरहेकाले बैठक दश मिनेटका लागि स्थगित गरे ।