१३ फागुन, काठमाण्डौ ।
काठमाडौंको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट बच्चा चोरी प्रकरणमा पक्राउ परेका दुई जनालाई प्रहरीले छाडेको छ । बच्चा चोरी प्रकरणमा मुख्य आरोपी रहेकी दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहबाहेक उनका पति र दिदी छुटेका हुन्। दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र शारदा शाहीलाई थुनामुक्त गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न नदेखिएपछि उनीहरू दुई जनालाई छाडेको प्रहरीले जनाएको छ । मनकुमारीका पति नरेन्द्र नेपाली सेनामा कार्यरत छन् । २४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेको छ । शारदा चाहिँ आरोपी मनकुमारीकी दिदी हुन् । उनीहरू कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी स्थित एउटै घरमा बस्छन् ।
फागुन ११ मा मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरेकी थिइन । अनुसन्धान अधिकृतहरूसँग उनले ‘जंगलमा भेटेर ल्याएको बताएकी थिइन । तर, चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि प्रहरीले मनकुमारीलाई पक्राउ गरेको थियो ।
पछि मनकुमारीका पतिलाई पनि सोधपुछका लागी बोलाएको थियो । यसअघि ३ पटक सम्म बच्चा खेर गरेको उनीहरूले प्रहरीसँग स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा लामो समय बच्चा नभएपछि चोरी गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।प्रहरी टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट राति ११ः४५ मा उद्धार गरेको थियो । बालिकालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा राखिएको छ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन । ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी थिइन । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।
सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो । प्रहरीले महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ । काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीका अनुशार अपराध प्रकृति अनुसार अपहरण वा शरीर बन्धक कसुरमा मुद्दा चलाउनुपर्ने देखिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्नता पुष्टि भएमा ७ वर्षदेखी १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।