९ चैत , एजेन्सी।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेलिने छ । यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ । त्यसअघि चेन्नईस्थित एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिने छ ।
उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिने भएका छन् । यसका अतिरिक्त अक्षय कुमार, टाइगर श्राफलगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने बताइएको छ । प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदराबादको सहभागिता रहने छ।
भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ ।प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १७औँ संस्करणका सबै खेल भारतमै खेलाइने दाबी गरेको छ ।
तर, लोकसभा निर्वाचनका कारण दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइने विषयमा पनि छलफल भइरहेको समाचारमा जनाइएको छ । आईपीएलको १७औँ संस्करणको उद्घाटन खेल शुक्रबार साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिँदै छ । प्रतियोगिताको उद्घाटन खेल चेन्नईको घरेलु मैदान एम. ए. चिदम्बरम स्टेडियममा खेलिने छ ।
यसपटक बैंग्लुरुको टोलीमा प्रभावशाली ब्याट्सम्यानहरूको बलियो उपस्थिति देखिन्छ । टोलीमा कप्तान फाफ डु प्लेसिस, विराट कोहली, क्यामरुन ग्रिन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिकजस्ता ब्याट्सम्यानहरूको दबदबा देखिन्छ । बैंग्लुरुले आईपीएलको १७औँ संस्करणका लागि २० करोड ४० लाख भारतीय रुपैयाँ खर्च गरेर ६ जना प्रभावशाली खेलाडी भित्राएको छ ।
बैंग्लुरुको टोलीमा यसपटक मोहम्मद सिराज, अल्जारी जोसेफ, लोकी फर्गुसनजस्ता प्रभावशाली बलर पनि छन् बैंग्लुरुको सबैभन्दा बलियो पक्ष ब्याटिङ नै हो । बैंग्लुरुको टोलीमा छैटौँ नम्बरसम्म क्रिज समाल्न आउने ब्याट्सम्यान प्रभावशाली छन् । टिममा कप्तान फाफ डु प्लेसिस, विराट कोहली, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन र दिनेश कार्तिक छन् ।
उता चेन्नई सुपर किङ्स आईपीएलको साबिक विजेता टोली हो । यसपटक अन्तिम समयमा चेन्नई कप्तान महेन्द्रसिंह धोनीले कप्तानी छाडेका छन् । ऋतुराज गायकवाडलाई कप्तान नियुक्त गरिएको छ । धोनी आईपीएलको इतिहासमै सर्वाधिक सफल कप्तान हुन् । उनले हालसम्म चेन्नईलाई पाँचपटक आईपीएलको उपाधि चुमाइसकेका छन् ।
धोनीका अतिरिक्त नयाँ कप्तान ऋतुराज गायकवाड, रवीन्द्र जडेजाजस्ता प्रभावशाली खेलाडी पनि चेन्नईको भरोसाका केन्द्र हुन् । यसपटक टोलीमा केही कमजोरी पनि देखिएको छ । डेभोन कनवे र मथिसा पाथिराना घाइते भएका कारण चेन्नई केही दबाबमा छ । चेन्नई सुपर किङ्सले आईपीएलको १७औँ संस्करणका लागि भएको अक्सनमार्फत ६ जना खेलाडी खरिद गरेको थियो ।
त्यसमध्ये तीनजना विदेशी र दुईजना भारतीय खेलाडी थिए । दुवै भारतीय खेलाडीले भने यसअघि आईपीएल खेलेका छैनन् । अहिलेसम्म दुई टोलीबीचको ३१ खेलमा सुपर किंग्सले दबदबा कायम गर्दै २० खेलमा जित हासिल गरेको छ भने एक खेल नतिजाविहीन भएको छ । यसको उल्टो रोयल च्यालेन्जर्सले १० खेल जितेको छ ।
पछिल्लो पाँच खेलमा चेन्नईले ४–१ को अग्रता लिएको छ । गत संस्करणको जस्तो यस आईपीएलमा पनि नेपाली खेलाडीको प्रतिनिधित्व देखिने छैन् । आईपीएलको मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएकामा एक खेलाडीपनि अक्सनमा समेत पर्न सकेनन् । आईपीएल खेलेका नेपालका एक मात्रै खेलाडी सन्दीप लामिछाने हुन् । जो यतिबेला बलात्कारमा दोषी ठहरभएपछि निलम्बित छन् ।