बिराटनगर भदौ, २९
भारतीय सन्देशमुलक चलचित्र “प्याड म्यान” को कथाले विराटनगरमा मूर्त रुप लिएको छ । चलचित्रको उद्वेश्य जस्तै बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समूहले सेनेटरी प्याड बनाउने अभियान सुरु गरेका हुन् ।
रजश्वला भएको बेला असुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएका गाँउमा रहेका किशोरीहरुका लागि उनीहरुले अभियान संचालनमा ल्याएका हुन् । अभियान अन्तर्गत उनीहरुले आफ्नै श्रोतसाधन प्रयोग गरी कलेजमा भेला भएर सेनेटरी प्याड बनाउने तथा पहिलो चरणमा सुनसरीको चिमडी स्थित नवदुर्गा स्कुलमा पढिरहेका ७० जना किशोरीहरुलाई उक्त प्याड वितरण गर्नेछन् ।
रजश्वलाको बेलामा सरसफाई तथा स्वास्थ्यमा कसरी ध्यान दिन सकिन्छ भनेर जनचेतनामुलक कार्यक्रम गर्ने तयारी गरेको अभियानकी कृपा श्रेष्ठले जानकारी दिइन् । प्राविधिकरुपमा विज्ञबाट सुझाब लिएर प्याड बनाउन सुरु गरिएको श्रेष्ठले जानकारी दिइन् ।
प्याड बनाउने काम अन्तिम चरणमा पुगेको र चाडै उक्त बिद्यालयमा वितरण गरिने श्रेष्ठको भनाइ छ । उक्त अभियान चलाउन चलचित्र “प्याड म्यान” हेरेपछि आफूहरु उत्प्रेरित भएको समूहका विद्यार्थीहरुले बताएका छन् ।