टोपबहादुर रायमाझी अस्पताल भर्ना

टोपबहादुर रायमाझी अस्पताल भर्ना

१५ चैत , काठमाण्डौ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेबाट निलम्बित सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ। हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

रायमाझीको मुटुमा समस्या भएपछि बुधबार राति उक्त सेन्टरमा भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए । ‘उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो,’ डा पौडेलले भने, ‘अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ।’

रायमाझीको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको पौडेलले बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा रायमाझी, कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणसहितका १८ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।

पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पक्राउ परेका सई लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भएका थिए । पछि पुनरावेदनमार्फत उच्च अदालत पाटनको आदेशमार्फत् कांग्रेस नेता खाँण पनि रिहा भएका थिए ।

उच्च अदालतले समेत रायमाझीसहितका व्यक्तिको हकमा भने जिल्लाकै आदेश सदर गरेको थियो । उनीहरु अहिले सर्वोच्च समेत पुगेका छन् । भुटानी शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो । उनीहरुविरुद्ध ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा गत १० जेठमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । २८ करोडको बिगो मागदाबी गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.