२२ चैत ,एजेन्सी ।
इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कप क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ । लियोनल मेसी विना घरेलु मैदानमा उत्रेको मियामीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा मोन्टेरेसँग २–१ ले पराजित भएको थियो । घरेलु मैदानमा टोमस एभिलेसको गोलबाट मियामीले १९ औं मिनेटमा अग्रता लिएको थियो । तर ६५ औं मिनेटमा १० खेलाडीमा सिमित भएपछि मियामीको प्रदर्शनमा असर परेको थियो ।
६५ औं मिनेटमा डेभिड रुइजले दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा सिमित भएको थियो । ६९ औं मिनेटमा म्याक्सिमिलियानो मेजाले बराबरी गोल गरेका थिए । खेल सकिन २ मिनेट बाँकी रहँदा जर्ज रोड्रिग्युजले गरेको गोल मोन्टेरेका लागि निर्णायक बनेको थियो । सन् २०२३ जुलाईमा मियामीमा आबद्ध भएयता मेसीले टोलीका १२ खेल गुमाइसकेका छन् ।
यता फिल फोडेनले ह्याट्रिक गरेको इंग्लिस प्रिमियर लिगको बुधबारको खेलमा एस्टन भिल्लालाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले आर्सनल र लिभरपुलमाथि दबाब कायम राखेको छ । आर्सनलसँग आइतबार बराबरी खेलेपछिको पहिलो खेलमा इर्लिङ हालान्ड र केभिन डि ब्रुएनेलाई भिल्लाविरुद्ध बेन्चमा राखेर पेप ग्वार्डिओलाले टोली उतारेका थिए ।
रोड्रीको गोलमा खेलको ११ औं मिनेटमा नै सिटीले अग्रता बनाएपनि जोन डुरानले २० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा इन्ज्युरी समयको पहिलो मिनेटमा फोडेनले गोल गदैै सिटीले अग्रता दिलाएका थिए । त्यसपछि ६२ औं र ६९ औं मिनेटमा गोल थप्दै फोडेनले ह्याट्रिक पूरा गरेका थिए ।
अर्को खेलमा आर्सनलले लुटन टाउनमाथि २–० को जित निकाल्दै शीर्षस्थानमा कायम रहेको छ । ब्रेनफोड र ब्राइटनले भने गोलरहित बराबरी खेलेका छन् । ३० खेलमा आर्सनल ६८ अंक छ । दोस्रो स्थानको लिभरपुल र सिटीको समान ६७ अंक छ । एक खेल कम खेलेको लिभरपुलले आज सेफिल्ड युनाइटेडको सामना गर्नेछ । चौथो स्थानको भिल्लाको ५९ अंक छ ।










