काठमाडौँ,भदौ ३०
बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन् । आईतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ गोविन्दा काठमाडौं आएका हुन् ।
उनको नेपाल बसाई ३ दिनको हुनेछ । बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पत्रकारमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिएका छन् । नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी हिल्स पुग्ने आफ्नो योजना रहेको पनि उनले जानकारी दिए ।
बलिउड सुपरस्टार गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भन्दै सम्बोधन गरेका थिए । गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी हुन् । यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए ।