१७ वैशाख ,विराटनगर।
नेपालमा विद्युतको प्रर्याप्तता र देशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशनहरु संचालनमा आएसँगै विद्युतीय सवारी साधनको प्रयोग र आयात बढिरहेको अवस्थामा अब विद्युतीय गाडीहरु नेपालमै उत्पादन हुने भएका छन् । कोशी एनके मोटर्स प्रा.लि. र स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड फुजियान चाईना बीच सोमबार नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने सम्बन्धमा ऐतिहासिक सम्झौता भएको छ ।
चाईनिज तथा कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय गाडी नेपालमा नै उत्पादन गर्न दुई कम्पनी बीच आज विहान सम्झौता भएको कोशी एन के मोटर्सका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए । चाईनिज ज्योतिष शास्त्र अनुसार विहान १०ः१८ मिनेटमा कोशी एनकेका प्रवन्ध निर्देशक टी आर ढकालको उपस्तिथिमा कोशी एन के मोटर्सका अध्यक्ष पुरी र गोल्डेन ड्रागन अटोबडी कम्पनीका प्रवन्ध निर्देशकबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा संचालनको तयारी गरिएको यस कम्पनीमा ३ अर्ब रूपैयाँको लगानी रहने अध्यक्ष पुरीले जानकारी दिए । उनका अनुसार १ वर्ष भित्र सबै चार पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने तयारी छ । कम्पनीले हरेक महिना ७५० गाडी उत्पादन गर्ने लक्ष्य राखेको पुरीले जानकारी दिएका छन् । स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी सन् १९९०मा स्थापित चीनको पहिलो चीन–विदेशी संयुक्त उद्यम कम्पनी हो ।
जसले चीनमा नै अटोबडी उत्पादनमा विशेषज्ञता हासिल गरेको छ । फुजियानको दक्षिणपूर्वी तटीय सहर सियामेनमा अवस्थित छ । यसका मुख्य उत्पादनहरुमा मेसिन पार्ट, वेल्डिङ पार्ट, अटो पार्ट, इलेक्ट्रिक पार्ट, प्रोसेसिङ मेसिनरी रहेका छन् । भन्सार विभागको पछिल्लो तथ्याङ अनुशार नेपालमा एक दशकमा ४६ हजारभन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिसकेका छन् ।
विद्युतीय सवारीको प्रयोगले इन्धनको खपत घट्दा यसबाट नेपाललाई वार्षिक सरदर ६ अर्बको इन्धन खर्च बचत भइरहेको अनुमान छ । विद्युतीय सवारीले वार्षिक २ करोड ६३ लाख भन्दा बढी युनिट विद्युत खपत गरेका छन् । यसबाट विद्युत प्राधिकरणले वार्षिक ३९ करोड ४९ लाख भन्दा बढी महसुल उठाएको छ ।
आर्थिक समृद्धि र विकास पछिल्ला केही वर्षयता राजनीतिक नेतृत्वको आश्वासन र त्यसलाई पछ्याउदै जनताले देखेको एक सपना हो । पछिल्लो समय देशका ठूला राजनीतिक दलहरु बीच देखिएको सत्तालिप्सा र अस्थिर चरित्रबाट जनताको मन भित्र भित्रै कुडिएका बेला निजी क्षेत्रको यो प्रयासले भने जनतालाई उत्साहित बनाएको छ ।