२० वैशाख , काठमाण्डौ।
दिनदिनै तापक्रम बढ्दै जाँदा देशैभर उर्खरमाउलो गर्मी हुन थालेको छ । तराईमेधशमा झनै तातो हावा र गर्मीले जनजीवन थप कष्टकर बनेको छ । तराई मधेशका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । लुम्बिनीका तराई भेग र मधेश प्रदेशमा तातो हावाको लहर चलेको छ ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै सूचना निकालेर आजसम्म तातो हावाको लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको थियो । तर भोलिदेखि पनि तातो हावा चल्ने जोखिम कायमै छ । भोलिदेखिको अवस्थाबारे अध्ययन भैरहेको र आज बेलुकासम्म थप जानकारी दिने विभागका मौसमविद राजु प्रधानाङ्गले बताएका छन् ।
भैरहवा, जनकपुर, सिमरा लगायतका ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । तापक्रम बढेर तातो हावा चल्दा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिन सक्छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नहिँड्न, हल्का लुगा तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, पटकपटक पानी तथा जुस, सर्वत, पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
यसबीच बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो । विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।