लखनउ,भदौ ३१
भारत भ्रमणमा रहेको नेपालको यू–१९ टिमले आज अफगानिस्तानको अन्डर १९ टिमलाई २५ रनले पराजित गरेको छ। भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) को आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल यू–१९, भारत यू–१९, अफगानिस्तान यू–१९ र भारत यू–१९ (बि) सहभागी भएको चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा अफगानिस्तान यू–१९ लाई पराजित गर्दै पहिलो जित हासिल गरेको हो।
नेपालले दिएको १९० रनको लक्ष्य पछायाएको अफगानिस्तानको युवा टोली ४७.४ ओभरमा १६४ रन बनाएर अल आउट भएपछि नेपाल २५ रनले विजयी भएको छ। नेपाललाई जित दिलाउने क्रममा बलर सागर ढकालले ४ विकेट लिए भने कमलसिंह ऐरी र रशिद खानले २–२ विकेट लिए। त्यस्तै पवन सराफले एक विकेट लिएका थिए भने एक विकेट सन्दीप जोराले रनआउट गराएका थिए।अफगानिस्तानका लागि इजाज अहमद मेहरनले सर्वाधिक ५७ रन बनाए भने रियाज हसनले ३८ र अब्दुल रहमान रहमानीले ३७ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४९.३ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । नेपालका लागि पवन सराफले सर्वाधिक ७८ रन नट आउट बनाएका थिए । पवनले ९६ बल खेल्दै १० चौका र एक छक्काको मद्धतले ७८ रन बनाए। नेपालका लागि सन्दीप जोराले २८, रशिद खानले २४, लोकेस बमले १६ तथा भिम सार्कीले १३ रन बनाए।अफगानिस्तानका बलर नविद मोहमद कबिरले ३ विकेट लिए भने अबिद मोहमदी र अरिफ खानले २–२ विकेट लिए।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले गत बुधबार भारतको १९ वर्षमुनीको ‘बि’ सँग र शुक्रबार ‘ए’ पराजित भएको थियो । त्यस्तै अफगानिस्तान पनि भारतको यी दुवै टिमसँग पराजित भएको थिए।