२२ जेठ, एजेन्सी ।
टी–२० विश्वकप–२०२४ को समूह ‘सी’मा रहेको अफगानिस्तान र समूह डीमा रहेको दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेका छन् । आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुवात गरेको हो । अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भयो ।
युगान्डाका रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । युगान्डालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए । यस्तै, नवीन उलहक र कप्तान राशिद खानले दुई÷दुई तथा मुजिब उर रहमानले एक विकेट लिए ।
यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । ओपनरद्वय रहमानुल्लाह र इब्राहिम जद्रानले अर्धशतकीय पारीमा अफगानिस्तानले ठूलो स्कोर बनाएको हो । गुर्बाजले ७६ र इब्राहिमले ७० रन बनाए । ओपनरबाहेकका ब्याटरले भने राम्रो गर्न सकेनन् ।
मोहम्द नाबी १४ रनमा अविजित रहनुबाहेक अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २÷२ र अलेपेश रमजानीले एक विकेट लिए । यस्तै समूह डीमा रहेको दक्षिण अफ्रिकाले पनि विजयी सुरुवात गरेको छ । न्यूयोर्कमा भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंका माथि ६ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको हो ।
ब्याटिङका लागि केही असहज रहेको पिचमा खेलाईएको खेलमा श्रीलंकाले दिएको मात्र ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेटायो । झिनो लक्ष्य रहेपनि ब्याटिङ गर्न दक्षिण अफ्रिकी ब्याटरहरुलाई समस्या उत्पन्न भएको थियो । तर अन्त्यमा दक्षिण अफ्रिकाले सहजै लक्ष्य भेटायो ।
जितमा दक्षिण अफ्रिकाका लागि क्विन्टन डीककले २७ बलमा २० रन बनाए । यस्तै हेनरीक क्लासेन २२ बल खेल्दै १९ रनमा अविजित रहे । ट्रिस्टन स्टब्सले २८ बलमा १३ रन बनाएर आउट भए । कप्तान एइडन मारक्रमले १२ रन जोडे । श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा समेटिएको थियो । कुशल मेण्डिसले ३० बल खेल्दै सर्वाधिक १९ रन बनाए । एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले १६ रन जोडे । दक्षिण अफ्रिकाका एनरिक नोर्टजे एक्लैले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले २–२ विकेट लिँदा १ विकेट ओटनिल बार्टमनको नाममा रह्यो ।
दक्षिण अफ्रिका र श्रीलंका बाहेक यस समूहमा नेपाल, नेदरल्याण्ड्स र बंगलादेश रहेका छन् । नेपालले मंगलबार बेलुका नेदरल्याण्ड्सको सामना गर्दै १० वर्षपछि टि–२० विश्वकपमा पुनरागमन गर्नेछ । यसैबीच दोस्रो पटक टी २० विश्वकममा सहभागिता जनाएको नेपालले आज नेदरल्यान्ड्सँग खेल्दै २०२४ आइसीसी टि२० विश्वकपको यात्रा सुरु गर्दैछ ।
खेल नेपाल समय अनुसार आज राति ९ः१५ बजे सुरु हुनेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन् । नेपाली क्रिकेट टोलीले अघिल्लो चरणको आशा कायम राख्नका लागि आजको खेल जित्नु पर्ने हुन्छ । त्यस्तै दबावमा नेदरल्याण्ड्स पनि रहेको छ ।