३ असार, काठमाडौँ।
ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घ/संस्थाको आन्दोलनका कारण काठमाण्डौमा पेट्रोल–डिजेलको अभाव भएको छ । कतिपय पम्प बन्द छन् ।
पेट्रोल पम्प बन्द हुँदा उपभोक्तालाई सास्ती भएको छ । थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरू व्यवसायीले रोकेका छन् ।
खाद्य वस्तुसरह पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । यी वस्तु ढुवानी वा बिक्री/वितरणमा अवरोध गर्न पाइन्न । तर नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेको छ ।
चालक, सहचालकलाई श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थालगायत सात बुँदे माग राखेर उनीहरूले हिजोदेखि थानकोट डिपोबाट इन्धन उठाएका छैनन् ।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले समस्या समाधान गर्न नेपाल आयल निगम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बद्ध निकायसँग पटक पटक अनुरोध गरे पनि सुनुवाइ नभएको बताएका छन् । समस्या समाधान र श्रमिकको मागबारे अहिले छलफलमा जुटेको पनि उनले जानकारी दिए।
अधिकांश निजी पम्पमा पेट्रोल छैन भन्ने सूचना टाँस गरिएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पेट्रोलिम मजदुरले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुसँग बिक्री गर्न पेट्रोल नभएको हो ।
मजदुरको माग बारे अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल हुन लागेको समेत उनले जानकारी दिए । ‘हामी मन्त्रालयमा छौं, केही बेरमा छलफल सुरु हुन्छ,’ उनले भने ।
यसअघि मजदुरहरुले सबै ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलवको व्यवस्था गर्न माग गरेका छन् ।
स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न समेत माग गरिएको छ ।
टेम्प्रेचरको सही व्यवस्थापन गरिनु पर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनु पर्ने, ५० लिटर भन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनु पर्ने माग समेत गरिएको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत संघले ३२ जेठमा कालोपट्टी बाँध्ने, १ असारका दिन गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र २ असारमा पूर्ण रुपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई हस्तान्तरण गर्ने गरी तय गरेको थियो ।