१४ असार , काठमाडौं ।
चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अबको २६ महिनाभित्र तयार हुने भएको छ । यसको निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ ।
सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।
तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बताएका छन् । मेयर रेणु दाहालले समेत सयौं व्यवधानहरुलाई पार गर्दै फेरि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको चरणमा प्रवेश गरेको भन्दै हामी सबै नेपाली क्रिकेट प्रेमीहरुको सपना अव छिट्टै पुरा हुने बताएकी छिन् ।
उनले लेखेकी छन् , हामी सबैको गौरव भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यको लागि प्रतिस्पर्धाबाट निर्माण व्यवसायी हिमालयन–कालिञ्चोक–बीबीआर जेभी छनोट भएको छ ।अवको एक हप्ता भित्रमा उक्त कम्पनी सगं महानगरले निर्माण सम्झौता गर्नेछ र सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य महानगरको रहेको छ। गएको माघमा रंगशाला निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गरिएको थियो ।
रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको बैठकले बजेट सुनिश्चित गरेको हो । रंगशाला निर्माणको प्रथम चरणका लागी रु ७५ करोड बराबर लागत अनुमानको ७० % प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको थियो । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा ०७५ माघमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको थियो ।
फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको शुभारम्भ गरेका थिए । २० बिगाहा ८ कट्ठामा जग्गामा निर्माण सुरु गरिएको सो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको थियो । त्यसका लागि फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो ।
तर बीचमै बजेटको व्यवस्थापन गर्न नसकेर उल्टै ऋणमा डुबेपछि फाउन्डेशनले निर्माणबाट हात झिक्दै महानगरलाई सो रंगशाला हस्तान्तरण गरेको थियो ।रंगशालाको ३० प्रतिशत भन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ ।
रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३÷३ तलाको टावर बनाइने छ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।