१७ असार, विराटनगर।
सरकारमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक समानान्तर रुपमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी जो संसदमा सबैभन्दा ठूलो दल पनि हो कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता बढाएपछि नेपाली राजनीतिमा फेरि नयाँ केही पाक्न लागेको आशंकाहरु गरिएको छ ।
धेरैले त अब सरकार परिवर्तन हुन लागेको भन्न थालेका छन्, स्वयं प्रधानमन्त्री प्रचण्डको मनमा पनि यस्तै ढ्याँग्रो बजेको छ । सोही कारण प्रचण्डले ओलीलाई देउवासंग भेटमा के कुरा भयो भन्दै आइतबारको भेटमा सोधेका थिए ।
शनिबार ओली र देउवाबीच बालकोटमै तीन घण्टाजति भेटवार्ता भएको थियो । सो क्रममा देउवाले ओलीलाई प्रधानमन्त्री अफर गर्दै मिलेर सरकार बनाउन सुझाएका उनी निकटले बताएका छन् । यसबारेमा ओलीले १८ गते अर्थात भोली बुधबारपछि देउवासंग फेरि कुरा गर्ने भनेका छन् ।
आइतबार भने ओलीले सिंहदरबारमा गएर प्रचण्डसंग भेटवार्ता गरेका थिए । आज पनि दुई नेताबीच भेटवार्ता भएको छ । आज प्रचण्डलाई भेट्न ओली बिहानै बालुवाटार पुगेका हुन् ।आइतबार ओली–प्रचण्डबीच पहिले एक्लाएक्लै छलफल भएको थियो । पछि त्यसमा रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मिसिएका थिए ।
लगत्तै आज पनि एमाले र माओवादीका अध्यक्षबीच भेट हुँदा यसलाई अर्थ पूर्णरुपमा हेरिएको छ । हुन त नेताहरुले यस्ता भेटघाट नियमित र सामान्य नै भएको बताएका छन् । यी भेटहरु पछिल्लो राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल भएको बताइएको छ ।
तर यो भेटमा राजदूत नियुक्तिदेखि धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति सम्मका विषयमा कुरा भएको बुझिएको छ । साथै सरकारका केही मन्त्रीहरू परिवर्तन हुन सक्ने पनि नेताहरूले बताएका छन् । यद्यपि, यो भेटबारे कतिपय माथिल्लो तहकै नेताहरूमा पनि अन्योल देखिएको छ ।
ओली आफैँले चाहिँ प्रचण्डसँको भेटमा भएका केही कुरा सार्वजनिक गरेका छन् । प्रचण्डलाई भेटेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रचण्डलाई आफूले सानातिना नियुक्तिहरूमा नअल्झिन सुझाव दिएको बताएका थिए ।
साथै परिस्थितिलाई विचार गरेर अघि बढ्न पनि भने, ओलीको भनाइ थियो । यस्तै आजको प्रतिनिधिसभा बैठकपछि पनि उनले आफू यस वर्ष प्रधानमन्त्री नबन्ने बताएका छन् । तर देउवा र ओलीबीच भएको भेटवार्ताले प्रचण्ड झस्किएका छन् ।
ओलीले भने अस्वस्थ भएका कारण देउवा आफूलाई भेट्न पुगेको बताएका थिए । तर पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइनै रहेको छ । फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको नेताहरूको भनाइ छ ।
तर, दुवैतर्फका नेताले सरकार मात्र होइन,राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए । सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको छ ।
मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको कांग्रेस नेताहरूको दाबी छ । यसबीच कांग्रेस नेता मिन विश्वकर्माले ओली देउवाको पछिल्लो भेटलाई लिएर प्रतिक्रिया दिएका छन् ।
एक अन्तर्वातामा उनले भनेका छन्, फरक दलका नेता एक ठाउँमा बस्दा सरकार गठनका बारेमा हो कि भन्ने आँकलन हुनु स्वाभाविक हो। सरकार गठनका बारेमा कुरा भएन, होइन भन्न पटक्कै सकिँदैन । ती बसाइ सरकार बदल्नैका लागि होइन भन्न सकिँदैन ।
अहिले संसद्मा संक्रमणकालीन विधेयक विचाराधीन छ, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा उतारचढाव आएको छ, सरकारको कार्यसम्पादन र प्रस्तुति क्षमता शून्य छ । यस्तो बेलामा मुख्य दल बाहिर बस्ने कि हस्तक्षेप गर्ने भनेर जनताले भनिरहेका छन् । तर बैठक सरकार बदल्नका लागि मात्रै भने होइन, मिन विश्वकर्माले भनेका छन् ।
यता अहिलेको गठबन्धनको किङमेकर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने छन् । तर गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले चर्काे आवाज उठाएको छ ।
साथै, उनको उक्त घटनाबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिसमेत बनेको छ । त्यसैले दबाबमा परेका लामिछानेको निर्णयले प्रधानमन्त्री प्रचण्ड सरकारको आयु निर्धारणा गर्ने अवस्था छ ।
लामिछाने सहकारी ठगीमा नजोडिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रसम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन छ । सर्वाेच्च अदालतले उक्त मुद्दाको पेसी १८ असारलाई तोकेको छ ।
त्यस दिन यदि गृहमन्त्री रविको विपक्षमा फैसला आएमा लामिछानेमाथि गम्भीर नैतिक संकट पर्ने विश्लेषण भइरहेको छ । त्यस्तो अवस्थामा उनीमाथि राजीनामाको दबाब बढ्न सक्ने पनि अनुमान भइरहेको छ ।
त्यसैले लामिछानेको विपक्षमा आदेश आउँदा सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने र सरकारको भविष्य धरापमा पर्ने सम्भावना छ । लामिछानेको उक्त निर्णयपछि नयाँ गठबन्धन बन्ने अवस्था आएमा दुई ठूला दल मिलेर गठबन्धन बनाउन सकिने विषयमा ओली र देउवाले छलफल गरेको बुझिन्छ ।
रविले सरकार छोड्ने अवस्था आएमा त्यसको विकल्पका बारेमा सरकार र प्रतिपक्षहरू संवादमा छन् । केही समयपहिला माओवादी र कांग्रेस नेताहरू पनि संवादमा थिए । यदि दुई ठूला दलबीच नयाँ गठबन्धन भएमा अन्य साना दलको आवश्यकता पर्दैन ।
तर, एमाले नेताहरू यो भेटघाट सामान्य रहेको बताउँछन् । ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनसँंग धितोपत्रबोर्डको अध्यक्षको नियुक्तिलाई लिएर रुष्ट छन् ।
बोर्डमा ओलीले आफूनिकट व्यक्ति नियुक्त गर्न खोजेका थिए तर पुनले गर्दा प्रक्रिया नै रद्द भएको छ । त्यसपछि ओली झन् रुष्ट बनेको एमाले स्रोत बताउँछ । ओलीले सरकारले ल्याएको बजेटको पनि विरोध गर्दै आएका थिए ।
न्यायाधीश नियुक्तिमा पनि गठबन्धनमा कुरा मिलिनसकेको स्रोतको दाबी छ । यसबीच सत्ता गठबन्धनमा खासै देखिने गरी खटपट नभए पनि राजनीतिक रूपमा उलटफेर हुन सक्ने आशंका सुरु भएका छन् ।
राजदूत सिफारिसमा पनि एमालेले आफूलाई पेलेर बढी लिएको माओवादीको बुझाइ छ । यता एमाले–माओवादीबीच धेरै अन्तरविरोध नभए पनि बजेटको विषयलाई लिएर एमालेका नेताहरूले संसदमा नै असन्तुष्टि पोखेका थिए ।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले पार्टीको एक कार्यक्रममा माओवादीको ३२ सीटलाई जादुयी नम्बर भन्दै कांग्रेस र एमालेलाई मिलाएर खेलाउन सके पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका थिए ।
प्रधानमन्त्रीको त्यो भनाइले ओली र देउवा दुवैलाई झस्काएर चाँडै भेटाएको अर्थमा बुझ्न भने सकिने एमाले नेताहरूको भनाइ छ । प्रचण्डले त्यसो भनेलगत्तै एमाले अध्यक्ष ओलीले मदन भण्डारी जयन्तीका दिन पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भूराजनीतिक शक्तिहरूका बारेमा अर्थपूर्ण टिप्पणी गरेका थिए ।
उनले भारत र चीन दुवैलाई चिढ्याएर वा एक वा अर्कोसँग नजिक भएर होइन समान दूरीमा रहेर नेपालले आफ्नो हितको रक्षा गर्नुपर्ने बताएका थिए । ओलीको पछिल्लो यो टिप्पणीलाई धेरैले बेवास्ता गरे पनि राजनीति र कुटनीतिका खेलाडीहरूले भने कांग्रेस–एमाले नजिक भएको अर्थमा बुझेका थिए ।
राजनीतिक स्थायित्व र अहिलेको चरम निराशा तथा निजी क्षेत्र धराशायी भएको अवस्थामा बलियो राष्ट्रिय शक्तिले देशको नेतृत्व गर्नुपर्ने एमालेको दृष्टिकोण छ ।
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच नियमित द्विपक्षीय र त्रिपक्षीय भेटवार्ता बाक्लिएको यो संदर्भमा तपाइँका टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।