मुकुल ढकाल रास्वपा महामन्त्रीबाट निलम्बित

मुकुल ढकाल रास्वपा महामन्त्रीबाट निलम्बित

२० असार, काठमाण्डौ।

समीक्षा प्रतिवेदनका केही अंश मिडियामा राख्दै अब आफू कारबाहीमा पर्ने भय व्यक्त गरेका रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालको त्यो भय सही सावित भएको छ । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेको छ । रास्वपाले ढकाललाई पदबाट निलम्बन गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ । साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारबाहीको सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ ।

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन । बुधबारको केन्द्रीय समिति बैठक लाइभ नगरिएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए ।

मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए ।

पार्टीको महामन्त्री प्रबन्ध निर्देशक (रवि गोर्खा मिडियामा त्यही पदमा थिए) जस्तै पद भएको भन्दै उनले भने, ‘हिजो जीबी राईको गल्ती, आज महामन्त्रीको गल्ती । मैले चाहिं कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।’ उनले अगाडि भने, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’

यता रास्वपाका नेताहरूले महामन्त्री ढकालमाथि समीक्षा यात्राको प्रतिवेदन पार्टीमा छलफल हुनु पहिल्यै सञ्चारमाध्यममा बाँडेको, कार्यक्षमता, व्यवहार, पार्टी विधान एवं पद्धतिअनुसार नचलेको, महोत्तरीको जलेश्वरमा बसेको बैठकमा पनि पद्धति मिचेको र सचिवालय गठनमा विधि नमानेको आरोप लगाएका छन ।

क्षमताविहीन व्यक्तिलाई पार्टी सचिवालयमा राखेको तर क्षमता भएका नेतालाई ठाउँ नदिएको पनि उनीमाथि आरोप लगाइएको छ । इलाम २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार मिलन लिम्बूलाई पराजित गर्न पनि भूमिका खेलेको उनीमाथि आरोप छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.