२० असार,काठमाण्डौ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ । उनलाई असार २६ गते सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटो सहित आयोगको महाशाखा नं.३मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो । आयोगकी आयुक्त अमात्यको ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित घरमा महानगरले डोजर चलाए लगतै अख्तियारले मेयरलाई पत्र काटेको हो ।
डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको महानगरपालिकामा पेस भएको कागजातबाट देखिन्छ । घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए । त्यसक्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ ।
स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए । पछि त्यो ठाउँमा शहरी विकास मन्त्रालयले पार्क निर्माणको काम थालेको थियो । स्थानीय समुदाय र गुठियारले कुलपूजा गर्ने ठाउँमा समन्वय नगरी शहरी विकास मन्त्रालयले एकलौटी रूपमा पार्क बनाउन खोजेको भनी उजुरी परेको थियो ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय ज्यापु समुदाय र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको बताए । तर आग्रह अस्वीकार गरेपछि मन्दिरको जग्गा संरक्षणका लागि डोजर चलाएको उनको भनाइ छ ।