२१ असार, विराटनगर ।
विराटनगरबाट सञ्चालित नेपाल टाइम्स प्रा.लि.का सञ्चालक अब्दुल खत्ताब (सेहेन्सा सिद्धिकी) अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिएको र कुटपिट अंगभंग सम्बन्धी मुद्दामा निर्दाेष ठहर भएका छन् ।
डेढ वर्षदेखि जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका सिद्दिकीलाई मोरङ जिल्ला अदालतले सफाइ दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले मुद्दाको दाबी नपुग्ने भन्दैै सफाइको फैसला गरेको हो ।
जिल्ला अदालतले सफाइ दिएसँगै अदालतले सिद्दिकीलाई आजै थुनामुक्त गरी सो को जानकारी अदालतमा पठाईदिन समेत कारागार कार्यलयलाई पत्राचार गरेको छ ।
सिद्दिकीलाई विराटनगरका व्यवसायी तथा नेपाल टाइम्सकै संचालक समेत रहेका व्यवसायी अरुणकुमार राठीले अपहरण गरी फिरौती लिएको आरोप लगाएका थिए ।
२०७९ मंसिर १४ गते भएको भनिएको घटनाबारे मंसिर १८ गते राठीले मोरङ प्रहरीमा जाहेरी दिएका थिए । राठीको जाहेरीपछि मंसिर २९ गते सिद्धिकी स्वयम प्रहरीसामु उपस्थित भएका थिए ।
सिद्दीकी २०७९ साल पुस २८ गते पुर्पक्षको लागि कारागार चलान भएका थिए । उक्त मुद्दाको ३७ औं पटकसम्म पेशी सरेको थियो ।
सिद्दीकीले मिडिया साझेदार रहेकाले राठीले फिरौती लिएको भनिएको १५ लाख रकम नेपाल टाइम्सलाई दिएको र कुनै अपहरणको घटना नभएको बताउँदै आएका थिए । प्रहरीले समेत अपहरण पुष्टि हुने ठोस प्रमाण उनका विरुद्धमा संकलन गर्न सकेको थिएन ।
सुनुवाइकै क्रममा सिद्धिकी पक्षबाट फिरौती नभई नेपाल टाइम्सलाई राठीले रकम दिएको यथेष्ठ प्रमाणहरु समेत अदालत समक्ष पेश गरिएका थिए ।
लामो समयपछि नै भएपनि सफाइ पाएको भन्दै सिद्धिकीको पक्षबाट कानूनी लडाई लडेका अधिवक्ता विनोद तिम्सिनाले सत्यको जित भएको प्रतिक्रिया दिएका छन् ।