२५ असार, विराटनगर ।
विराटनगरमा सोमबार राती ग्याङफाइट हुँदा एक युवाको ज्यान गएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुई समूहबीच चक्कु हानाहान हुँदा मानविय हताहति भएको हो । मृतक र घाइतेको शरीरमा धारिलो हतियार चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।
यो क्षेत्र जिल्ला प्रहरी कार्यालय मोरङको कार्यालय नजिकै रहेको क्षेत्र हो । घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेलाई अस्पताल पु¥याएपछि मात्रै प्रहरीलेघटनाको जानकारी पाएको थियो । मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको एसपी कार्कीले बताए ।
‘सानो चोट देखिन्छ तर भित्रसम्म चोट परेकाले मृत्यु भएको जस्तो देखिन्छ,’ उनले भने,‘ घाइतेको शरीरमा पनि धारिलो हतियारले घोपेको चोट छ ।’ घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक कार्कीले अनुसन्धान गरिरहेको बताए । ‘दिउँसो उनीहरुको कतै झगडा भएको रहेछ, त्यसको रिसमा घटना भएजस्तो देखिन्छ,’ उनले भने, ‘आफैंआफैं झगडा गरेको पनि हुनसक्छ, आज दिनभरीमा सबै पत्ता लग्छ ।’ प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ । यस्तै प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।