३१ असार, काठमाण्डौ ।
आफैले कांग्रेससँगको गठबन्धन भत्काए प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा यथावत राख्दै प्रतिपक्षबाट सत्तापक्ष बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साढे ३ महिना भित्रै देशको ४५ औं प्रधानमन्त्री बनेका छन् । नेपालको राजनीतिक इतिहासमा चौथो पटक प्रधानमन्त्री हुने अवसर पाएका ओलीले आफ्नो २२ सदस्यीय मन्त्रिपरिषद्मा १० जना नयाँ नेताहरुलाई जीवनमै पहिलो पटक मन्त्री हुने अवसर समेत प्रदान गरेका छन् ।
कांग्रेस र एमालेबीचको आलोपालो सरकारको नेतृत्व गर्ने गरी भएको सहमति वमोजिम पहिलो २ वर्षका लागि प्रधानमन्त्री बनेका ओलीले आफ्नो मन्त्रिमण्डलमा १० नयाँ सांसदहरूलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्रीसहित बाँकी १२ जना सांसदहरु भने दोहोरिएका छन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये १० जना पहिलोपटक मन्त्री बनेका हुन् ।
यसपटक ओली नेतृत्वको सरकारमा एमालेले भन्दा कांग्रेसले धेरै नयाँ मन्त्री पठाएको छ । कांग्रेसले ६ जनालाई पहिलो पटक अवसर दिँदा एमालेले चारजना नयाँलाई पठाएको छ । जसमा नेपाली कांग्रेसबाट आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलो पटक मन्त्री बनेका हुन् ।
राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् । यसैगरी प्रधानमन्त्रीको दल नेकपा एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता पहिलो पटक मन्त्री बनेका छन् । दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओलीले नियुक्त गरेका अन्य मन्त्रीहरू भने अनुभवी छन् । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल भने सरकारमा धेरै पटक दोहोरिएका छन् । अशोक राई नेतृत्वको जसपा र लोसपाबाट पनि मन्त्री दोहोरिएका छन् । प्रदीप यादव प्रचण्ड नेतृत्वको सरकारमा पहिलो पटक मन्त्री बनेका थिए भने शरदसिंह भण्डारी पटक पटक मन्त्री बनिसकेका छन् ।
ओलीको क्याबिनेटमा दलितको सहभागिता भने शुन्य देखिएको छ भने महिलाको सहभागिता मात्रै २ जना रहेको छ । महिलालाई कमस्थान दिइएको भन्दै सांसदहरुले नै प्रश्न उठाइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले जम्बो मन्त्रीको टोलीमा २ जना मात्रै महिला मन्त्री भन्दै लेखेकी छन्, काङ्ग्रेस एमालेको जम्बो मन्त्री टोलीमा जम्मा दुईजना महिला मन्त्री! महिला नेतृत्व स्वीकार्नै नसक्ने पितृसतात्मक सोचबाट ग्रसित यो समाजलाई उकालो लाग्न अझै दशकौं लाग्नेछ।