१८ साउन, काठमाण्डौ ।
त्रिशूलीमा यात्रुसहित बेपत्ता भएका दुई बस खसेको ३ साता पुग्न लाग्दा समेत अत्तोपत्तो नलागेपछि तिनको खोजी गर्नका लागि सरकारले चीनसँग सहयोग मागेको छ । तर नेपालका लागि चिनियाँ राजदूतले दिएको एक अभिब्यक्तिका कारण सांसदहरुले नै उनको ब्यापक आलोचना गरिरहेका छन् ।
प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन सोङले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको भन्दै आपत्ति जनाएका छन् । उनले भारतबाट हराएका बसु र यात्रुहरु खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदुतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताए ।
उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए । उनले यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने बताए । सभापति यादवले राजदूतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर आचरण गरेको उल्लेख गरे ।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने समेत बताएका छन् । उनले भनेका छन्, हामीले कुनैपनि देशको राजदुतलाई हाम्रो आन्तरिक मामिलामा टिकाटिप्पणी गर्ने, निर्देशन दिनेकुरा सह्य हुँदैन । यो भयो भने अरु देशका राजदुतले यसो गर् । उसो गर् भनिरहन्छ ।
त्यसैले हामीले परराष्ट्र मन्त्रालयलाई के कारणले यस्ता टिका टिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न मन्त्रालयले के पहल गरेको छ, त्यो जानकारी लिइसकेपछि मन्त्रालयलाई दिने निर्देशन र प्रभावकारी कदमका लागि काम हुनेछ ।’ राजदुत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।
सो विषयलाई लिएर संसदमा पनि सांसदहरुले आवाज उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेका सांसद रामहरि खतिवडाले राजदूतले सामाजिक सञ्जालमा लेखेको विषयमा परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण सोध्नुपर्ने बताए । “बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौँ ।
अप्ठ्यारो परेका बेला हाँसीमजाकमा नउडाउ,” उनले भने, “यसमा परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लियोस् ।” उनले चिनियाँ राजदूतले गम्भीर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै कडा निन्दा गरे । यस्तै जनमत पार्टी संसदीय दलको उपनेता अब्दुल खानले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिए ।
“एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदूतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुखमा नुनचुक निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ,” उनले भने, “यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ ।
जनप्रतिनिधिहरुले यस्तो आलोचना गरिरहदा त्रिशूलीमा बेपत्ता खोज्नका लागि आधुनिक चुम्बकीय प्रविधिसहित नेपाल आएको भारतीय टोलीसमेत कुनै उपलब्धि हासिल गर्न नसकी स्वदेश फर्किएपछि सरकारले चीनसँग सहयोग मागेको छ । गृहसचिव एकनारायण अर्यालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बस खोज्न चीनसँग सहयोग माग्ने जानकारी दिएका थिए ।
मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म दुई दर्जन शव मात्रै फेला परेका छन् । अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन ।