३१ भदौ, विराटनगर ।
नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबीच पछिल्लो समय टकरावको अवस्था सिर्जना भएको छ ।
विशेषगरी उद्योगीले लिएका ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताका विषयमा सरकार र प्राधिकरणबीच ‘घम्साघम्सी’ को अवस्था सिर्जना भएको हो ।
यसैबीच, नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङलाई नै लक्षित गरी टिप्पणी दिएका छन् ।
शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले उद्योगमा बिजुलीको लाइन काट्नु भनेको ‘घाँटी काट्नुसरह’ भएको बताएका हुन् ।
ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णयमा पुगेर लाइन काटेको उनको आरोप छ ।
उनले भने, ‘कसैले विद्युत प्रयोग गरेबापत पैसा तिर्नुपर्छ। त्यसको मूल्य निर्धारण भएको छ। तर तिर्नुपर्ने भनिएको कुरा न्यायोचित छ कि छैन यसमा राज्यले ध्यान दिन जरूरी छ।’
कार्यक्रममा बोल्दै घिसिङले जिम्मेवार व्यक्तिहरूबाट नै सार्वजनिक रूपमा प्राधिकरणको नाफा कागजी हो भनी गलत प्रचार गरिएको बताए ।
महालेखा परीक्षकजस्तो संवैधानिक निकायले वार्षिक रूपमा लेखापरीक्षण गरेर प्रकाशन गरेको वित्तीय विवरणमा आशंका गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।