२ भदौ , एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरुवात गरेका छन् । गएरातीको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इपस्विचलाई तथा अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । इपस्विचको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका डिएगो जोटा र मोहम्मद सलाहले समान एक÷एक गोल गरे ।
त्यस्तै अर्को खेलमा आर्सनलका काई हाभार्ट र बुकायो साकाले गोल गरे । जितसँगै लिभरपुल र आर्सनलले समान तीन अङ्क जोडेका छन् । त्यस्तै हिजो बेलुका नै भएको अर्को खेलमा ब्राइटनले एभर्टनलाई ३–० गोलले, न्यूक्यासलले साउथह्याम्पटनलाई १–० गोलले हरायो । नटिङघम फरेस्ट र बर्नमाउथले एक÷एक गोलको बराबरी खेलेका छन् ।
गएराति भएको अर्को खेलका एस्टनभिल्लाले वेस्ट ह्यामलाई २–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ । इंग्लिस प्रिमियर लिगमा आज बेलुकी पौने ७ बजे ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस तथा सवा ९ बजे चेल्सी र म्यानचेस्टर सिटी खेल्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता टोली हो ।
उता, भ्यालेन्सियाविरुद्ध जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगामा सुखद सुरुवात गरेको छ । घरेलु मैदान मेस्टाला स्टेडियममा भएको खेलमा भ्यालेन्सिया २–१ ले पराजित भयो । बार्सिलोनालाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । भ्यालेन्सियाका लागि ह्युगो डुरोले सान्त्वना गोल गरे ।
खेलको ४४ औं मिनेटमा डुरोको गोलमार्फत भ्यालेन्सियाले अग्रता लिएको थियो । उनले डियगो लोपेजको पासलाई गोल गरेका थिए । यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा लमिन यमलको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए ।
लेवान्डोस्कीले ४९ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई जित दिलाए । जीतसँगै बार्सिलोनाको तीन अङ्क जोडेको छ । शनिवार भएको अर्को खेलमा ओसासुना र लेगानिसले १–१ गोलको बराबरी खेलेका थिए । ला लिगामा आइतबार १ खेल रहेको छ ।
उक्त खेलमा राती पौने ११ बजे रियल सोसिडाड र रायो भालेकानो भिड्दैछन् ।