३ भदौ, विराटनगर ।
पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्ले अहिले चर्चामा छिन् ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको प्रशंसा गर्दै गाएको गीतका कारण दर्शक-स्रोतामाझ परिचित बनेकी उनी सरुवाको विषयले झन् चर्चित बनिन् ।
महानगरले हालैमात्र उनलाई सामाजिक महाशाखाबाट वडा नम्बर २३ मा सरुवा गरेको छ । आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण बद्नियतपूर्वक सरुवा गरेको दाबी गर्दै उनले अन्तर्वार्तामा अभिव्यक्ति दिएकी थिइन् ।
यसैले पनि उनको आन्तरिक सरुवा अहिले सामाजिक सञ्जालमा चर्चा र चासोको विषय बनेको छ । उनको अन्तर्वार्ताका कारण पोखरा महानगरपालिकाले विज्ञप्ति निकालेर स्पष्टीकरण नै दिनुपरेको छ । विज्ञप्तिमा महानगरले नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको जनाएको हो ।
वाग्लेले बालेनको प्रशंसा गरेर गीत गाउँदा सरुवा गरेको आरोप लगाएपछि आफ्नो ध्यानाकर्षण भएको जनाउँदै महानगरले वाग्लेमात्र नभई नियमानुसार ४२ जना कर्मचारीलाई सरुवा गरिएको जनाएको छ ।
विज्ञप्तिमा कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार भएको दाबी गरिएको छ ।
‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरूमाथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।’