७ भदौ, काठमाडौं ।
फर्किएकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेकी छन् । हालै पाँचदिने भारत भ्रमण सकेर नेपाल फर्किएकी राणाले सानेपामा जारी केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी गराएकी हुन् ।
ब्रिफिङमा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारसँग सहयोग गर्न प्रतिबद्धता जनाएको उनको भनाइ थियो ।
उनले भारतीय अधिकारीहरुसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको जानकारी दिइन् । आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको भन्दै उनले डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर शुक्रबारमात्र आएको सुनाइन् ।
‘लक्किली मोदीजीसँग पनि भेट भयो । सबभन्दा राम्रो कुरा चाहिँ के भयो भने दुइटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति उहाँहरूको कस्तो रेस्पोन्स हुन्छ भन्दा रेस्पोन्स राम्रो भएको यहाँ अवगत गराउन चाहन्छु,’ उनले भनिन् ।
भारतको औपचारिक भ्रमण सकेर राणा बिहीबार स्वदेश फर्किएकी हुन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवाता गरेकी थिइन् । प्रधानमन्त्री मोदीसँगको भेटवार्ता र भारत भ्रमण उपलब्धिमुलक रहेको उनको भनाइ छ ।