लुइस स्वारेजले ३७ वर्षमा किन लिए सन्न्यास?

लुइस स्वारेजले ३७ वर्षमा किन लिए सन्न्यास?

१८ भदौ ,  एजेन्सी।

उरुग्वेका फरवार्ड लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । स्वारेजले सोमबार राति भावुक हुँदै अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने निर्णय गरेका हुन् । ३७ वर्षीय स्वारेजले १७ वर्षसम्म उरुग्वेको प्रतिनिधित्व गरे । लुइ आलबेर्तो स्वारेज दियासको जन्म २४ जनवरी १९८७मा भएको थियो । उरुग्वेली फुटबल खेलाडी स्वारेज मेजर लिग सकरको क्लब इन्टर मियामी र उरुग्वेको राष्ट्रिय टोलीमा अग्रपङ्क्तिको रूपमा खेल्ने गर्दछन्।

स्वारेजलाई उनको पुस्ताको एक महान खेलाडी र फुटबल इतिहासको महान अग्रपङ्क्तिको खेलाडी मध्ये एक मानिन्छ। स्वारेजले आफ्नो व्यावसायिक फुटबल खेल जीवनमा क्लब स्तरको ७ लिग, १ युएफा च्याम्पियन्स लिग र उरुग्वेको तर्फबाट २०११ कोपा अमेरिका सहित १९ वटा मुख्य उपाधिहरू जितेका छन्। सदावहार गोलकर्ता स्वारेजले दुई युरोपेली सुनौलो जुत्ता, एरिडिभिसी सुनौलो जुत्ता, एक प्रिमियर लिग सुनौलो जुत्ता र पिचिची उपाधि जितेका छन्।

उनले क्लब र देशको लागि ५०० भन्दा धेरै गोल गरिसकेका छन् । स्वारेज आफ्नो फुटबल खेल जीवन भरी विवादले घेरिएका छन्। उनले तीन पटक आफ्नो विपक्षी खेलाडीलाई टोकेका थिए भने सन् २०१० को विश्वकपमा उनले गोल लाइनमा हातले बल रोकेका थिए। स्वारेजलाई मैदानमा लडेको नाटक गर्ने आरोप लाग्ने गरेको छ र यो कुरा उनले स्वीकार गरेका छन् ।

सन् २०११ मा फुटबल सङ्गठनले उनलाई पेत्रिस इभ्रालाई जातीय दुर्ववहार गरेकोमा दोषी पाइएको थियो भने यो निर्णयमा स्वारेजले विवाद गरेका थिए। उनले देशबाट १४२ खेल खेल्दा ६९ गोल गरेका छन् । सन् २००७ मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका स्वारेज उरुग्वेका उच्च गोलकर्ता समेत हुन् । सन् २०११ मा भएको कोपा अमेरिका उरुग्वेले जित्दा स्वारेज टिमका महत्त्वपूर्ण सदस्य थिए ।

“शुक्रबार मेरो अन्तिम खेल हुनेछ,” स्वारेजले भावुक हुँदै भने, “मेरो लागि यही समय उपयुक्त लाग्यो । म अझै खेल्न चाहन्थेँ, तर चोटका कारण त्यो सम्भव हुँदैन ।” आउँदो शुक्रबार मोन्टेभिडियोमा उरुग्वेले पाराग्वेको सामना गर्दै छ । त्यो सन् २०२६ फिफा विश्वकप छनोटअन्तर्गतको खेल हो । त्यसको चार दिनपछि उरुग्वेले भेनेजुएलासँग खेल्ने तालिका छ ।

हाल स्वारेज अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । स्वारेजले मियामीसँग दुई वर्षको सम्झौता गरेका छन् । उनले अजाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोबाट पनि खेलिसकेका छन् । सन् २०१४ जुलाई ११ का दिन स्वारेजले गोप्य स्थानान्तरण मूल्यमा बार्सिलोनासँग पाँच वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

यद्यपि फुटबल लिकद्वारा सार्वजनिक गरिएको कागजात अनुसार उनको मुल्य ६४.९८ मिलियन थियो। यसबाट उनी विश्व फुटबल इतिहासमा सबैभन्दा मूल्यवान खेलाडी मध्ये एक बनेका थिए। २०१४ फिफा विश्वकपमा इटालीका खेलाडी जर्जो किएलिनीलाई टोकेकोमा उनी दोषी पाइएका थिए । यसपछि उनको निलम्बनको हिस्साको रूपमा उनलाई बार्सिलोनामा प्रशिक्षण सहित सबै प्रकारको “फुटबल सम्बन्धी गतिविधि“ बाट प्रतिबन्ध गरिएको थियो।

उनलाई सो अवधिमा दर्शकको रूपमा रङ्गशालामा प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको थियो । खेलकुद न्यायलयले समेत फिफाद्वारा स्वारेज माथि गरिएको ४ महिना खेलबाट निलम्बन र ९ अन्तर्राष्ट्रिय खेलको प्रतिबन्धलाई अनुमोदन गरेको थियो। यही प्रतिबन्धको कारण स्वारेज २०१५ कोपा अमेरिकामा सहभागी हुन प्रतिबन्धित भएका थिए।

स्वारेजले जितेका उपाधिहरुमा :

लिभरपुलबाट = फुटबल लिग कपः सन् २०११–१२

बार्सिलोनाबाट = ला लिगाः सन् २०१४–१५, सन् २०१५–१६, सन् २०१७–१८, सन् २०१८–१९

कोपा डेल रे = सन् २०१४–१५, सन् २०१५–१६, सन् २०१६–१७, सन् २०१७–१८

सुपर कोपा दे स्पाना=सन् २०१६, सन् २०१८

युएफा च्याम्पियन्स लिग = सन् २०१४–१५

युएफा सुपर कप = सन् २०१५

फिफा क्लब विश्व कप = सन् २०१५

एथ्लेटिको म्याड्रिडबाट = ला लिगाः सन् २०२०–२१

उरुग्वेबाट = कोपा अमेरिकाः सन् २०११

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.