१८ भदौ, विराटनगर ।
फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पारा ओलम्पिक खेलकुद-२०२४ मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन बुधबार स्वदेश फर्किने भएकी छन् ।
तेक्वान्दोकी पलेशाले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी थिइन् । शुक्रबार राति भएको के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।
कास्यदक जितेर नेपालाई ओलम्पिक पदक तालिकामा देखाउन सफल २१ वर्षीय पलेशाले बुधबार बिहान काठमाडौं आइपुग्ने भएकी हुन् । बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई नगर परिक्रमा गराइने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
राखेपका अनुसार विमानस्थलबाट पलेसासहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्याइनेछ ।
पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यसयता नेपालले पाराओलम्पिकमा कुनै पनि ‘मेडल’ जित्न सकेको थिएन ।
त्यसबाहेक अरू ओलम्पिकमा पनि नेपालले अहिलेसम्म पदक जित्न सकेको थिएन । समग्रमा सन् १९६४ देखि ओलम्पिक खेल्न थालेको नेपालले मेडल जित्न ६० वर्ष नै कुर्नुपरेको थियो । हुन त सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए ।
तर त्यो बेला तेक्वान्दो प्रदर्शनी खेल मात्र भएकोले उनको पदकले मान्यता पाएन । हालसम्म १६औं पटक ओलम्पिकमा सहभागिता जनाएको नेपालको मेडल विवरण शून्य थियो ।