प्रधानमन्त्री ओलीका फलोअर्स फेरि बढ्न थाले

प्रधानमन्त्री ओलीका फलोअर्स फेरि बढ्न थाले

२१ भदौ , काठमाण्डौ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ समर्थकको ‘अनफलो’ अभियानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले गुमाएका फेसबुकका फलोअर्स पुनः फर्किन थालेका छन् । उनले दुई दिनको अन्तरालमा ७७ हजार बढी फलोअर्स गुमाएकामा ३ हजार बढी पुन रिकभर भएका छन् । मेयर शाहले यही भदौ १६ गते एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध लेखेको स्टाटस भदौ १८ गते फेसबुकले हटाइदिएपछि बालेन समर्थकले त्यही साँझदेखि फेसबुकमा ओलीविरुद्ध अनफलो अभियान चलाएका थिए।

जसका कारण केपी शर्मा ओली फेसबुक पेजको फलोअर्स ६ लाख ६६ हजारबाट एकदिनमै ७७ हजार घटेर भदौ १९ गते (बुधबार) ५ लाख ८९ हजारमा झरेको थियो। तर बिहीबार देखि भने ओलीको फेसबुक फलोअर्स घटेको स्थानबाट बिस्तारै बढ्न थालेको हो। यस क्रममा आज बिहान सम्म ओलीको फेसबुक फलोअर्स ५ लाख ८९ हजारमा ३ हजार थपिएर ५ लाख ९२ हजारमा उक्लेको हो।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले केही दिनअघि ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारका रूपमा शोषण र हिंसा गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई २ महिनादेखि कारबाही गर्न अनुरोध गर्दा पनि सरकारले नसुनेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखे।

प्रदेश सांसद शर्माको तस्बिरसहित उनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ– नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनुभन्दा पनि यो सरकारले समाएको छैन।

अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।’

बालेनको उक्त स्टाटस २ दिनपछि फेसबुकले हटायो। ‘मास रिपोर्ट’मा परेर उनको त्यो स्टाटस हटेको थियो । यसरी फेसबुकलाई रिपोर्ट गरेर उक्त स्टाटस हटाउन लगाउने उनै प्रधानमन्त्री ओली र उनको पार्टी एमालेका कार्यकर्ता भएको आरोप लगाउँदै बालेनका समर्थकले ओलीविरुद्ध फेसबुकमा ‘अनफलो’ अभियान चलाएका थिए । यस विषयमा अहिलेसम्म प्रधानमन्त्री ओली तथा उनको सचिवालयले बालेनविरुद्ध सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।

यसैबीच बुधबार अपराह्न भने एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यो विषयमा आफ्नो पुरानो भिडिओ क्लिप्ससहित एउटा पोस्ट गरेका छन्। त्यसमा उनले स्टाटस लेखेका छन्, ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता छैन। सत्यबाहेक अरू केहीको पनि आयु लामो हुँदैन।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सक्रियता देखाएका थिए । पोखरेलले फेसबुकमा ओलीको पेज सेयर गर्दै फलो गरिदिन आशय प्रकट गरेका थिए । बुधबार बिहानतिर ओलीको फेसबुक पेज पोखरेलले आफ्नो अकाउन्टमार्फत् सेयर गरेका थिए ।

यस्तै पूर्व पार्टी अध्यक्ष ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलेपछि नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले समेत फलोअर्स बढाउने उपाय सुझाएकी थिइन् । झाँक्रीले बुधबार सामाजिक सञ्जाल मार्फत् फलोअर्स बढाउने उपाय दिएकी हुन् । उनले लेखेकी छन्, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.