खेलेरै नेपालमा जीवन धान्न कठिन रहेको गुनासो खेलाडीबाट आइरहेका बेला केही खेलाडीले भने मनग्य आम्दानी गर्दै आइरहेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।
समाचार अनुसार समकालीन नेपाली खेलाडीहरुमा सर्वाधिक कमाइ गर्ने खेलाडीमा सन्दीप अग्र पंक्तिमा छन् । उनले ६ महिनामै करोडभन्दा बढी कमाएका छन् । विदेशी लिगहरुमा खेल्दा सन्दीपले पाएका सम्मान, पुरस्कार र राष्ट्रिय टोलीबाट लिने तलब–सुविधा यसमा जोडिएको छैन ।
त्यस्तै क्रिकेटर पारस खड्काको कमाइ पनि राम्रै छ । उनले कुनै महिना १० लाख रुपैयाँसम्म आर्जन गर्ने गरेको बताएका छन् । विमल घर्तीको मासिक आम्दानी १ लाख हुन्छ भने गोलकिपर किरण चेम्जोङ ३ लाखसम्म बनाउँछन् ।
फुटबलर रोहित चन्दले मासिक ५ लाख कमाउदै आएका छन् भने टीटी खेलाडी नविता श्रेष्ठको मासिक आम्दानी ८० हजारसम्म हुन्छ । फुटबलर विराज महर्जन, विक्रम लामा, र सुजल श्रेष्ठको कमाइ बराबर जस्तै छ । मासिक १ लाख कमाउने गरेको नयाँ पत्रिकामा छापिएको छ ।क्रिकेटर शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी र सोमपाल कामीले पनि मासिक आम्दानी १ लाख हाराहारीमा गर्ने गरेका छन् ।