२८ भदौ, विराटनगर ।
नेकपा एमालेसँगको सत्तासहकार्य तोडिएर समर्थन फिर्ता लिँदै नेकपा माओवादी केन्द्रका मन्त्रीहरू फिर्ता भएको लामो समयपछि कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ ।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेपछि माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गत साउन ११ गते राजीनामा बुझाएका थिए ।
माओवादीबाट प्रदेश सरकारमा गणेशप्रसाद उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य, नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरण र बन्दना झाँगर पर्यटन, वन तथा वातावरण राज्यमन्त्री थिए ।
उनीहरूले राजीनामा दिएपछि झन्डे दुई महिना रिक्त रहेका चार मन्त्रालयले आजबाट मन्त्री पाएका हुन् । सत्ता साझेदार दल कांग्रेसले मन्त्रीहरूको नाम छिनोफानो गर्न नसक्दा ढिलाइ भएको मन्त्रिपरिषद् विस्तारको आज भएको हो ।
आज कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भए । नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । भुपेन्द्र राईलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएको छ भने खगेनसिह हांगाम उद्योग, कृषि तथा सहकारी र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । झापाका भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका हुन् ।
एमालेले भने मुख्यमन्त्रीसहित सामाजिक विकास, खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय, आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ ।