२२ असोज, एजेन्सी ।
आइतबार रातिबाट युरोपका शीर्ष पाँच लिगलाई विश्राम दिइएको छ । इन्टरनेशनल ब्रेक दिइँदै स्पेनको ला लिगा, इंग्ल्यान्डको प्रिमियर लिग, इटालीको सिरी ‘ए’, जर्मनीको बुन्डेस लिगा र फ्रान्सको फ्रेन्च लिग वानका खेलहरू स्थगन गरिएको छ ।
अब, दुई सातासम्म युरोपियन क्लबआबद्ध खेलाडीहरूले आ–आफ्नो देशका लागि खेल्ने छन् । केही दिनपछि नै आगामी दुई वर्षपछि अमेरिका क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको छनोट खेलहरू हुने छन् भने युरोपियन राष्ट्रहरूले युइएफए नेसन्स लिगका खेलहरू खेल्ने छन् ।
ब्रेक हुनुअघि युरोपियन लिगमा बलिया टिमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने डिफेन्डिङ च्याम्पियन पछ्याउने क्रममा छन् । केही युवा स्टार खेलाडीहरूले गोल्डेन बुटको दौडमा अग्रता बनाइरहेका छन् ।
प्रिमियर लिगमा साविकको विजेता म्यानचेस्टर सिटीलाई उछिन्दै लिभरपुलले उपाधि दौडमा अग्रता बनाइरहेको छ । सात चरणको खेल सकिँदा लिभरपुल १८ अंकसहित शीर्ष स्थानमा छ ।
समान खेलबाट १७ अंक बटुलेको सिटीले पछ्याइरहेको छ । सिटीसँग बराबरी अंक बनाएको आर्सनल तेस्रो स्थानमा हुँदा १४ अंकसहित चेल्सी चौथो स्थानमा छ । सर्वाधिक धेरै पटकको विजेता म्यानेचस्टर युनाइटेड भने ८ अंकसहित १४औं स्थानमा छ ।
प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा नौ खेलमा १० गोल गरेका सिटीका इयर्लिङ हालान्ड छन् । यता, ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड बार्सिलोनासँग पछि परेको छ ।
नौ चरणको खेल सकिँदा बार्सिलोना २४ अंकसहित शीर्ष स्थानमा रहँदा २१ अंक बनाएको मड्रिडले दोस्रो स्थानमा रहेर उसलाई पछ्याउँदै छ । गोल्डेन बुटको दौडमा पनि बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको अग्रता छ ।
इटालियन सिरी ‘ए’ मा पनि साविक विजेता इन्टर मिलान दोस्रो स्थानमा छ । सात चरणको खेल सकिँदा इन्टर शीर्ष स्थानको नापोलीसँग दुई अंकले पछि परेको छ । नापोलीसँग १६ अंक छ भने शीर्ष स्थानमा उक्लिन संघर्ष गरिरहेको इन्टरसँग १४ अंक छ ।
जर्मन बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन लिभरकुजेन पाँचौं स्थानमा संघर्षरत छ । बायर्न म्युनिख र लेइपजिग समान १४–१४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । फ्रेन्च लिग वानमा पनि पेरिस सेन्ट जर्मेन साविक उपविजेता मोनाकोभन्दा पछि छ ।
सात चरणको खेल सकिँदा डिफेन्डिङ च्याम्पियन पिएसजी १७ अंकसहित दोस्रो स्थानमा हुँदा दुई अंक बढी भएको मोनाको शीर्ष स्थानमा छ ।