२६ असोज ,काठमाण्डौ।
आज नेपालीहरुको महान चाड बडा दशैँको मुख्य दिन, अर्थात टीकाको दिन । यस पटक मनसुन ढिला गरि बाहिरिएकाले दशैँ हिले हुन सक्ने पूर्वानुमानका बीच केही प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने बाहेक देशभर मौसम सफा रहेको छ ।
झरी हुने स्थानमा समेत आज ठूलो पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ ।
मनसुनी वायुका साथै पश्चिमी वायुकोसमेत सामान्य प्रभाव रहेकाले यी ठाउँमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन वटा प्रदेशका पहाडी केही भागका हल्का वर्षाको सम्भावना छ ।
वर्षा भए पनि खासै ठूलो पानी पर्ने सम्भावना छैन । दशैँको टीका विथोल्ने किसिमको ठूलो पानी पर्ने अवस्था नरहेको मौसमविद् झाले जानकारी दिए । ’आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन,’झाले भने ।
दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ ।
कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र वाग्मती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।
न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाडौँमा सामान्य चिसो बढेको छ । अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कत अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौँको अधिकतम तापक्र २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ ।