२६ कार्तिक, काठमाण्डौ।
सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल ल्याइने भएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
पछिल्लो पटक आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उनलाई रुपन्देही ल्याउने तयारी गरेको हो । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो ।
कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको थियो ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा, जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र साढे १२ करोड विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।
छविलाई यसअघि नै रुपन्देही लगेर १३ घण्टा बयान लिँदै पोखरा पठाइएको थियो भने रविलाई रुपन्देही ल्याउने तयारी भइरहेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले लामिछानेलाई रुपन्देही ल्याउने तयारी भइरहेको बताए ।
लामिछानेलाई आजै नभए भोलि बिहान विमानसम्म भैरहवा ल्याउने तयारी भएको जानकारी दिए । आज विमानको फ्लाइट नमिले भोलिसम्म लामिछानेलाई बुटवल ल्याउने तयारी गरिएको हो ।
यस्तै प्रहरीले लामिछानेलाई रुपन्देही ल्याउँदा हुनसक्ने आन्दोलनका विषयमा समेत तयारी गरेको जनाएको छ । उनलाई रुपन्देही ल्याउदा सहकारी पीडित र रास्वपा कार्यकर्ताको सम्भावित प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत शनिबार जिल्ला सुरक्षा संयन्त्रकाबीचमा अनौपचारिक छलफल भएको थियो ।
प्रहरी श्रोतका अनुसार दुवै पक्षले गर्न सक्ने प्रदर्शनका विषयमा छलफल गरी सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निषेधित क्षेत्र तोक्ने र व्यापक प्रहरी परिचालन गर्ने तयारी रुपन्देही प्रशासनको छ ।