रविलाई रातारात गाडीमा पोखरा पुर्याइयो

रविलाई रातारात गाडीमा पोखरा पुर्याइयो

२० मंसिर, काठमाण्डौ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा पुर्याइएको छ। चितवनमा बयान सकेर उनलाई बुधबार राती नै पोखरा पुर्याइएको हो ।

काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पु¥याइएको थियो ।

चितवनमा २ दिनसम्म बयान सकेर राति नै स्थलमार्ग हुँदै रविलाई बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा ल्याइपु¥याएको प्रहरीले जनाएको छ । चितवनमा रविको बयान चलिरहेका बेला रास्वपाका आन्दोलनका क्रममा प्रहरी र नेता कार्यकर्ताबीच झडपसमेत भएपछि बिहीबार बिहान जहाजमा पोखरा ल्याउनुभन्दा रातारात नै गाडीमार्फत पोखरा ल्याउनु उचित देखिइएको प्रहरीको भनाइ छ ।

जिल्ला सरकारी वकिल कार्यालय, चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको रोहवरमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत ज्ञानकुमार महतोले रविसँग मंगलबार र बुधबार गरी २३ घण्टा बयान लिएका थिए ।

मंगलबार १० घण्टा र बुधबार १३ घण्टा बयान भएको थियो । गोर्खा मिडिया नेटवर्कमा १५ प्रतिशत सेयर लिएर प्रबन्ध निर्देशकसमेत भएका रविले चितवन सरकारी वकिल कार्यालयमा बयान दिँदा दुई दिनमा ७४ वटा प्रश्नको सामना गर्नुपरेको छ ।

उनले आफूले ठगी गर्ने नियतले कुनै काम नगरेको जवाफ दिएका छन् । ‘पैसा कहाँबाट आयो थाहा छैन । प्रबन्ध निर्देशका हैसियतले मैले चेक काटेको हुँ,’ रविको बयान थियो । उनले यसअघि संसदीय समितिमा दिएको बयानकैसँग मिल्ने व्यहोरा चितवनमा पनि टिपाएका छन् ।

काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसैले बयानका लागि रविलाई गत बिहीबार पोखराबाट काठमाडौं लागिएको थियो ।

गत कात्तिक २ गते रविलाई काठमाडौं पार्टी कार्यालयबाटै पक्राउ गरी पोखरा लगिएको थियो । रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौ पटक म्याद थपिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा रविमाथि अनुसन्धान भइरहेको छ ।

उनको र परिवारको नाममा रहेको सम्पत्ति रोक्का गरेर अनुसन्धान गरिरहेको प्रहरीलाई सम्पत्ति शुद्धीकरणको मुद्धामा गत मंसिर ९ गते थप अनुसन्धानका लागि १५ दिन म्याद थप भएको छ । अब भने रविको अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्धा दायर गर्ने तयारी प्रहरीको छ ।

रविविरुद्ध पोखरा, बुटवलसँगै काठमाडौं, चितवन र पर्सामा पक्राउ पुर्जी जारी भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई त्यहीअनुसार बुटवल, काठमाडौं र चितवनमा बयान सकेर ल्याइएको छ भने अब पर्सासमेत लैजाने तयारी देखिएको छ ।

पर्सामा रविसहित१४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । संसदीय समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न संलग्नता देखाउँदै कारबाहीका लागि सिफारिस गरेको छ ।

जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको छानविन समितिको प्रतिवेदनले देखाएको छ । समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीवी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसमध्ये जीवी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ । झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.