सिटीलाई चोटै चोट, छैनन् नयाँ खेलाडी

सिटीलाई चोटै चोट, छैनन् नयाँ खेलाडी

३० मंसिर ,एजेन्सी ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लगातार व्यस्त हुने तालिका व्यवस्थापन गर्न क्लबलाई ठूलो खेलाडीको समूह आवश्यक पर्ने बताएका छन् । चोटका कारण प्रभावित बनेको सिटी अहिले पनि तीन मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ, जसमा च्याम्पियन्स लिग र आगामी सिजनको अन्त्यतिर संयुक्त राज्य अमेरिकामा हुने क्लब विश्वकप पनि समावेश छन्।

ग्वार्डिओलाले भने, ‘व्यस्त तालिकासहित २५–३० खेलाडीको टोली आवश्यक पर्छ । यो क्लबका लागि आर्थिक रूपमा चुनौतीपूर्ण हुने सम्भावना छ । समर्थक भन्छन– समस्या के हो? समस्या भनेकै तालिका हो।’ उनले थपे, ‘यो अवस्था चाँडै सबै क्लबहरूको लागि चुनौती बन्नेछ । २०२३ मा जब हामीले ट्रेबल जितेका थियौं, त्यो बेला केही खेलाडी घाइते भए पनि हामी स्थिर थियौं । अहिले भने त्यो स्थायित्व छैन।’

सिटी हाल रोड्री, केभिन डी ब्रुइन, जोन स्टोन्स, रुबेन डायस, र फिल फोडेनजस्ता प्रमुख खेलाडीको अनुपस्थितिमा जुझिरहेको छ । चोटका कारण प्रभावित सिटीले आफ्नो लय गुमाएको छ । पछिल्ला १० खेलमा सिटीले सात हार बेहोरेको छ र केवल एक जित निकालेको छ ।

आइतबार म्यानचेस्टर युनाइटेडसँग खेल्दै गर्दा सिटी लिभरपुलभन्दा नौ अंकले पछाडि छ र तालिकाको चौथो स्थानमा छ ।ग्वार्डिओलाले थपे, ‘खेलाडीहरूले आफ्नो परिस्थितिसँग जुझिरहेको देख्दा मलाई दुःख लाग्छ । म समर्थकहरूको निराशा पनि बुझ्छु। सायद सिजनको सुरुआतदेखि नै लगातार खेल्नुपर्ने दबाबले हाम्रो प्रदर्शनमा असर गरेको छ।’

यस्तै, सिटीका मिडफिल्डर रोड्रीले यसअघि खेलाडीहरूले खेल्नुपर्ने खेलहरूको संख्यालाई लिएर हड्ताल गर्नुपर्ने कुरा समेत सुझाव दिएका थिए । ग्वार्डिओलाले मेडिकल स्टाफको प्रयासको सराहना गर्दै खेलाडीहरूको रिकभरीका लागि निकै मेहनत गरिरहेको बताएका छन् ।

तर, चोट फुटबलको अभिन्न अंग रहेको उनी बताउँछन् । उनले थपे, ‘पछुतो गर्नुभन्दा पनि यो चुनौतीलाई स्वीकार गर्नुपर्छ। अन्त्यमा यदि हामीले उपाधि जित्छौं भने अन्य सिजनको तुलनामा यो सफलता हाम्रो लागि अझै सन्तोषजनक हुनेछ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.