इसेवा, फोनपे कम्पनीको खाता खाली, बैंकको पैसा नै असुरक्षित

इसेवा, फोनपे कम्पनीको खाता खाली, बैंकको पैसा नै असुरक्षित

५ पुष ,काठमाण्डौ।

सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने कम्पनी एफवान सफ्टको खाताबाट ह्याकरले तीन करोड ४२ लाख चोरेको खबर बाहिरिएको छ । कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन् ।

करिब दुई महिनाअघि एफवन सफ्टले आफ्नो खातामा कसैले अनधिकृत पहुँच पाएर रकम चोरी गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएको हो ।कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट पैसा चोरी भएको हो । सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा भएको यस्तो ह्याकिङमा अन्तर्राष्ट्रिय समूह संलग्न रहेको आशंका गरिएको छ ।

कम्पनीको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । एफवान सफ्ट इसेवा, फोनपेजस्ता चर्चित मोबाइल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले सफ्टवेयर तथा प्रविधि विकास गरी बिक्री– वितरणको भुक्तानी सो खातामा जम्मा गर्दै आएको थियो ।

दुई महिनाअघि पटक–पटक गरेर सो खाताबाट अनलाइन बैंकिङमार्फत विभिन्न खातामा पैसा ट्रान्सफर भएको हो । केही खाताधनीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान भर्खरै सुरुवाती चरणमा रहेको साइबर ब्युरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताएका छन् ।

कर्पाेरेट बैंकिङ प्रणालीमा अनधिकृत रूपमा पहुँच पु¥याएर खाताबाट रकम चोरी भएको अनुमान गरिएको छ । यसरी चोरी गरिएको रकम नेपालमै विभिन्न व्यक्तिको खातामा लगिएको छ । कतिपयको टिकटबापतको रकम भुक्तानी गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेकालाई हुन्डीको कारोबार मिलाउन नेपालको खातामा पैसा हालिएकाले यसमा अन्तर्राष्ट्रिय गिरोहकै संलग्नता देखिएको प्रहरी अधिकारी बताउँछन् । प्रहरी उपरीक्षक अवस्थीका अनुसार यस घटनामा धेरै व्यक्ति प्रतिवादी हुने देखिएको छ ।

एफवन सफ्ट ईसेवा, फोन पे, लगायतका कम्पनीहरूको माउ कम्पनी हो । जसले विभिन्न बैंकहरूका लागि इन्टरनेट तथा मोबाइल बैंकिङ सिस्टम विकास, व्यवस्थापन तथा सञ्चालनको कार्य समेत गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.